काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई छुटाउने गरी सरकारले ल्याउन लागेको अध्यादेशको विरोध गरेका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै थापाले रेशम चौधरीलाई जुलमुक्त गर्न अध्यादेश जारी गर्ने सरकारको निर्णयमा गलत भएको बताएका हुन् ।
उनले पार्टीभित्र यो अध्यादेशका बारेमा कुनै छलफल र निर्णय नभएको प्रष्ट पारे । थापाले भनेका छन्, ‘पार्टीभित्र यो अध्यादेशका बारेमा न त कुनै छलफल भएको छ, न कुनै निर्णय नै ।
त्यसैले विगतमा पार्टीको अडान जे थियो आज पनि त्यहि छ । यो अध्यादेश कानूनी, राजनीतिक र नैतिक हिसाबले समेत गलत छ । यो असंवैधानिक र संसदीय व्यवस्थाको मर्म विपरीत छ ।’
थापाले अदालतमा विचाराधीन मुद्दालाई सरकारले फिर्ता लिन नसक्ने बताए । गगनले अहिलेको सरकार कामचलाउ भएकाले दुरगामी महत्वको निर्णय गर्न नमिल्ने बताएका छन् ।
उनले भनेका छन्, ‘यो राजनीतिक विषय हो भन्ने लागेर आवश्यकता देखे नयाँ संसदले कानून बनाएर प्रक्रिया अघि बढाउन सक्छ ।’
यस्तो अध्यादेश कानूनी, राजनीतिक र नैतिक हिसाबले समेत गलत रहेको उनको भनाइ छ । अदालतमा विचाराधीन मुद्दालाई सरकारले फिर्ता लिन नमिल्ने पनि थापाले स्पष्ट पारेका छन् ।
यदि यो राजनीतिक विषय हो भन्ने लागेर आवश्यकता देखेको खण्डमा नयाँ संसदले कानून बनाएर प्रक्रिया अगाढि बढाउन सक्ने उनको भनाइ छ ।
अदालत र संसदको क्षेत्राधिकारमाथि कार्यपालिकाले हस्तक्षेप गरेको भन्दै तत्काल अध्यादेश फिर्ता लिन उनले माग गरेका छन् ।