काठमाडौं । नेकपा एमालेले नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई जथाभावी अभिव्यक्ति नदिन आग्रह गरेको छ ।
इलाम १ मा निर्वाचन परिचालन कमिटीको संयोजन गरिरहेका उदयबहादुर राईले विज्ञप्ति जारी गर्दै लोकतान्त्रिक अभ्यास पाएको अभिमतलाई सम्मान गर्न आग्रह गरेका हुन् ।
राईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'एमालेको राम्रो जनाधार भएको माईजोगमाई गाउँपालिका वडा नं ५, सोयाङ सिरिसेमा मतदानको दिन मतदातालाई त्रसित बनाउन बम पड्काउनु,
माई नगरपालिकाबाट मतपेटिका गणनास्थलसम्म ल्याउने गाडीलाई लक्षित गरी बम पड्काउनु, गोर्खेमा मतपेटिका साट्ने दुष्प्रयास गर्नुजस्ता आपराधिक क्रियाकलापले
जनताको जनमतको आधारमा होइन जालझेल र षड्यन्त्र गरेर जसरी पनि चुनाव जित्ने गठबन्धनका उम्मेदवार खनालको अभिष्ट थियो जुन पूरा हुन सकेन। ’
आपराधिक क्रियाकलापबाट जालझेल र षड्यन्त्र गरेर गरेर नेता खनालले चुनाव जित्न गरेको प्रयासलाई असफल पारेको एमालेको आरोप छ ।
निर्वाचन परिणमलाई अस्वीकार गरेर देशको प्रधानमन्त्री भइसकेको व्यक्तिले लोकतन्त्रको मेरुदण्डमाथिकै हमला गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।
इलाम १ बाट एमालेका महेश बस्नेतसँग चुनाव हारेपछि नेता खनाल र उनको पार्टीले चुनावी परिणामलाई अस्वीकार गरेर पुनः मतदानको माग गर्दै कानुनी उपचार खोज्नै बताउँदै आएको छ ।