रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्न निर्वाचन नै महत्वपूर्ण माध्यम भएको बताएका छन् ।
रौतहट सदरमुकाम गौरस्थित श्रीराम जानकी कन्या आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।
मतदानपछि अध्यक्ष नेपालले लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्न निर्वाचन नै महत्वपूर्ण माध्यम भएको बताए। मतदान गर्दै अध्यक्ष नेपालले निर्वाचनका माध्यमबाट आफैंलाई शासन गर्ने व्यक्ति जनता आफैंले रोज्नुपर्ने भएकाले ध्यानपूर्वक मतदान गर्नुपर्ने बताए।
सरकारले निर्वाचनका विकृतिलाई रोक्न कडाइ गर्न आवश्यक रहेको भन्दै भने, ‘खासगरी निर्वाचनमा देखापरेको विकृतिहरुको बारेमा खबर धेरै सुनेको छु ।
रातभर पैसा बाँड्दै अनि मासुमाछाको भतेर लगाउँदै विपक्षीहरु हिँडेको सुनियो । खासगरी प्रमुख विपक्षीको रुपमा रहेको पार्टीका उम्मेदवारहरुले आचारसंहीताको चरम उल्लंघन गरेको भन्ने सुनेँ ।
राति मोटरसाइकलमा पैसा बाँड्दै हिँडेको, ठाउँठाउँमा फेला पनि परेको सुन्नमा पनि आएको छ । यी विकृतिलाई कसरी रोक्न सकिन्छ भन्नेबारेमा धेरै कडाइ गर्नुपर्ने आवश्यकता छ ।’
सत्ताको आडमा निरंकुश लादेर कहिले पनि जनताको सामना गर्न नपर्ने दिनहरु अब फर्केर नआउने उनको भनाइ छ।
अध्यक्ष नेपालले मुलुकमा निरंकुश व्यवस्था लागू गर्ने प्रयासहरुलाई आफूहरुले असफल बनाएको बताए। आफ्नै जिल्लामा मतदाताकोबीचमा मत खसाल्नुपाउदा खुसी लागेको नेपालको भनाइ छ।