काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन युवालाई आगामी निर्वाचनलाई देशको भाग्य र भविष्य बदल्ने निर्वाचनको रुपमा सदुपयोग गर्न आग्रह गरेका छन् ।
निर्वाचन प्रचारप्रसारको मौन अवधि सुरु हुनु केही घण्टाअघि आम मतदातालाई सम्बोधन गरी जारी गरिएको भिडियो सन्देशमा अध्यक्ष लिङ्देनले सो कुरा बताएका हुन् ।
उनले जीवनमा पहिलोपटक भोट हाल्न तम्तयार लाखौं नवयुवा र युवालाई आगामी निर्वाचनलाई देशको भाग्य र भविष्य बदल्ने निर्वाचनको रुपमा सदुपयोग गर्न आग्रह गरे ।
यस्तै उनले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई केवल आवधिक निर्वाचनको रूपमा मात्रै नभई विगतका त्रुटि सच्याउने अवसरको रुपमा सदुपयोग गर्नुपर्ने बताएका छन् ।
अध्यक्ष लिङ्देनले आफ्नै जीवनकालमा समृद्ध नेपाल बनाउने र नेपाल बनेको हेरेर मर्ने आमचाहना परिपूर्ति गर्ने संकल्पका साथ राप्रपा निर्वाचनमा होमिएको बताए ।