काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माविरुद्ध परेको उजुरी निर्वाचन आयोगले तामेलीमा राखेको छ ।
झापा क्षेत्र नं.१ का उम्मेदवार समेत रहेका शर्माको आरोप पुष्टि हुन नसकेको भन्दै आयोगले तामेलीमा राख्ने निर्णय गरेको हो ।
निर्वाचनको बेला अग्नि पीडितलाई आर्थिक सहयोग गरेको र यो निर्वाचन आचारसंहिता विपरीत भएको भन्ने आरोप शर्मामाथि लागेको थियो ।
तर उक्त शर्माले आगलागी पीडित केबल निरौला र उनका बुवालाई २ लाख ५० हजार रुपैयाँ हस्तान्तरण गरेका थिए । त्यसबारे आयोगले स्पष्टीकरण सोधेको थियो ।
उनले उक्त सहयोग विपदकालीन सेवा र निर्वाचन घोषणा पूर्वदेखिकै कामको निरन्तरता भएको भन्दै स्पष्टीकरण पेश गरेका थिए ।
निर्वाचन आयोगका आयुक्त एवम् आचारसंहिता अनुगमन समितिको आदेशमा लेखिएको छ, ‘मिसिल संलग्न कागजातहरु र निज विश्वप्रकाश
शर्माबाट पेश भएको स्पष्टीकरण जवाफ समेतबाट निर्वाचन आचारसंहिता २०७९ विपरीतको कार्य गरेको पुष्टि हुन आएको नदेखिंदा प्रस्तुत उजुरी तामेलीमा राखिदिने ठहर्छ ।’
त्यसैको आधारमा निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन नभएको निष्कर्ष निकालेको हो ।