काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ तथा काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य उम्मेदवार कुन्ती पोखरेलले पर्यटक उम्मेदवारलाई जिताउन नहुने बताएकी छन्।
मंगलबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को चुनावी घरदैलोका क्रममा उनले यस्तो बताएकी हुन्।
उनले टुरिस्ट उम्मेदवारलाई जिताउँदा विकास नभएको उदाहरण र अनुभव रहेको भन्दै यसपटक आफ्नै माटोमा हुर्किएर भूगोललाई चिनेको उम्मेदवार जिताउन आवश्यक रहेको बताइन्।
‘बजेट आएको र दुरुपयोग भएको पाए भने कारबाहीको लागि मैले सिफारिस गर्छु । बजेट आएको छैन भने वर्षौंदेखिको बजेट अब म यहाँ ल्याएर विकास गर्छु । यो क्षेत्रमा विकासको जिम्मेवारी म लिन चाहन्छु । पर्यटक उम्मेदवारलाई जिताएर पठाउँदा विकास नगरेको अनुभव हामीसँग छ,’ पोखरेलले भनिन् ।
नेतृ पोखरेलले काठमाडौं २ मा विकासको जिम्मेवारी आफूले लिन चाहेको भन्दै आसन्न निर्वाचनमा आफूलाई जिताउन मतदाताहरूसँग आग्रह गरिन्।