काठमाडौं । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगले निर्वाचन आचारसंहितामा कडाइ गरेका कारण उल्लंघनका घटना कम भएको बताएका छन् ।
उनले आयोग पहिले सुधारात्मक मोडलमा भएपनि यस निर्वाचनबाट दण्डात्मक रुपमा प्रस्तुत भएको बताएका छन् ।
आयुक्त भण्डारीले बढी आचारसंहिता उल्लंघन हुने समय प्रचारप्रसारको समय भएको भन्दै सो अवधिलाई घटाएका कारण झनै अप्रिय घटनाहरु घट्न नपाएको उल्लेख गरे ।
‘प्रचारप्रसारको समय जम्मा १७ दिन दियौँ । यो अवधिमा झडप हुने नमिठो अवस्था सिर्जना हुने अवस्था यही हो । त्यो समयलाई नै छोट्याइदिएपछि त्यसरी आचारसंहिता उल्लंघन गर्ने, झडप हुने कम हुँदो रहेछ’, भण्डारीले भने ।
आचारसंहिता उल्लंघनका १४९ वटा उजुरी निर्वाचन आयोगमा प्राप्त भएको उनले बताए ।