झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा क्षेत्र नं ३ मा राजतन्त्र र गणतन्त्रबीचको लडाइँ नभएको बताएका छन् ।
भद्रपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै झापा क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहेका अध्यक्ष लिङ्देनले सो कुरा बताएका हुन् ।
उनले भने, 'राजतन्त्र र गणतन्त्र साधन हो, साध्य होइन, राजतन्त्र र गणतन्त्र दुई भिन्दाभिन्दै बाटो हो, जसको मूल ध्येय जनताको समृद्धिसँग जोडिएको छ ।'
राजतन्त्र र गणतन्त्र दुई भिन्दाभिन्दै व्यवस्था भएको उल्लेख गर्दै उनले जनताको शान्ति, समृद्धिको चाहनालाई स्थापित गर्न विचारअनुसार आआफ्नो मार्ग पहिल्याएर अघि बढेको बताए ।
'कसैलाई एउटा बाटो मन पर्छ, कसैलाई अर्कैु,' उनले भने,'हामी आआफ्नो विचार र आस्था लिएर अघि बढेका छौं, गन्तव्य सबैको एउटै ध्यय हो, बाहिर चर्चा भएजस्तो यहाँ राजतन्त्र र गणतन्त्रबीचको लडाइँ कदापि होइन ।'