Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • प्रहरीमा एआईजीको चार दरबन्दी रिक्त, को-को छन् दाबेदार ?

    प्रहरीमा एआईजीको चार दरबन्दी रिक्त, को-को छन् दाबेदार ?

    अनलाइन नेपाल
  • बुधबार, २३ कार्तिक २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीमा अतिरिक्त महानिरीक्षक (एआईजी) को चार दरबन्दी रिक्त भएको छ । उपत्यका प्रहरी कार्यालयका अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्रबहादुर धानुकले मंगलबार अवकाश पाएसँगै एआईजीको चारओटा दरबन्दी रिक्त भएको हो ।

    पछिल्लो समय अवकाशमा गएका चारै एआईजी ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा गएका हुन् । २० साउन २०७९ मा एआईजी विश्वराज पोखरेल अवकाशमा गएका थिए । प्रहरी महानिरीक्षकका सशक्त दाबेदार पोखरेललाई प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले महानिरीक्षक नियुक्त नगरेपछि उनी सर्वोच्च अदालत गएका थिए ।



    तर, सर्वोच्चले प्रहरी महानिरीक्षकमा नियुक्त धिरजप्रताप सिंहको नियुक्तिलाई सदर गरेपछि उनी एआईजीको ५६ वर्षे उमेर हदका कारण अवकाशमा गएका हुन् । पोखरेलपछि गत २३ भदौमा मुकुन्दराज आचार्यले अवकाश पाएका थिए । त्यस्तै, प्रशासन विभाग प्रमुख एआईजी अरुणकुमार बीसीले पनि गत १४ कात्तिकमा अवकाश पाएका थिए । धानुकको अवकाश भने विवादित बन्न पुग्यो ।



    उनीमाथि प्रहरी नियमावली संशोधन गरेर एआईजीको उमेरहद ५८ वर्ष बनाउन लागेको आरोप छ । अर्थमन्त्री जनार्दन शर्माले आफूनिकटका धानुकलाई एआईजीबाट अवकाश हुन नदिन गृह मन्त्रालयलाई समेत बेवास्ता गरेर प्रहरी नियमावली संशोधन गर्न खोजेका थिए । तर, उनी सफल भएनन् । धानुकलाई अर्थमन्त्री शर्माकै जोडबलमा दरबन्दी थप गरेर प्रहरी महानिरीक्षक सिंहसँगै एआईजीमा बढुवा गरिएको थियो ।

    रिक्त चार एआईजी पदमा बढुवा हुन करिब एक दर्जन डीआईजी प्रतिस्पर्धामा छन् । वरीयताका आधारमा मधेस प्रदेशका डीआईजी मसाउद आलम खाँ, लुम्बिनी प्रदेशका नलप्रसाद उपाध्याय र सुदूरपश्चिमम प्रदेशका मोहनकुमार आचार्य अगाडि छन् ।

    उनीहरू प्रहरी महानिरीक्षक सिंहका ब्याची हुन् । तर उनीहरु पछि २०७९ असारमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएका वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह र दीपक थापा पनि एआईजीको लबिङमा छन् । २०७९ असारमा डीआईजी भएकामध्येबाटै भावी आईजीपी हुने निश्चितप्रायः छ । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार