Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सन्दीपविरुद्धको मुद्दामा आज जवाफी बहस हुने, आजै आदेश आउने सम्भावना

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज जवाफी बहस हुनेछ ।

सन्दीपका तर्फबाट कानुन व्यवसायीहरूको बहस सकिएपछि आज जवाफी बहस हुन लागेको हो । बुधबारबाट सुरु भएको थुनछेक बहस बिहीबार पनि नसकिएका कारण मुद्दा हेर्दाहेर्दैमा राखिएको छ।

जिल्ला अदालत काठमाडौंमा बिहीबार सन्दीपका तर्फबाट वरिष्ठ अधिवक्ताहरू कृष्णप्रसाद सापकोटा, लभ मैनाली, रमण श्रेष्ठ र शम्भु थापाले बहस गरेका थिए । उनका तर्फबाट अधिवक्ता सविना भण्डारीले पनि बहस गरिन् । सन्दीपकै तर्फबाट बुधबार अधिवक्ताद्वय मुरारी सापकोटा र रोशनी पौड्यालले बहस गरेका थिए ।

बिहीबार समयाभावका कारण सरकारी वकिलको तर्फबाट जवाफी बहस भएन । त्यसैले सन्दीपविरुद्धको मुद्दा आजका लागि ‘हेर्दाहेर्दै’मा राखिएको थियो । आज सरकारी वकिलको तर्फबाट न्यायाधिवक्ता महेश खत्रीले जवाफी बहस गर्नेछन् ।

जवाफी बहस सकिएपछि अदालतबाट सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्ने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश आउनेछ । १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका सन्दीपविरुद्ध अनुसन्धान सकिएपछि जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले सोमबार अदालतमा मुद्दा दायर गरेको थियो।

मंगलबार सन्दीपले अदालतमा बयान दिएका थिए भने बुधबारदेखि थुनछेक बहस सुरु भएको थियो। सन्दीपविरुद्ध मुलुकी अपराध संहिता, ०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा (३) को (घ) अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ।

जसमा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। सोहीअनुसार सन्दीपविरुद्ध अधिकतम १२ वर्ष जेल सजायको मागदावी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077