Online Nepal
  • शनिबार, १७ कार्तिक २०८१
  • २०७४ मा एक्लै चुनाव लडेका नरेन्द्र साहलाई गठबन्धनको साथ, सर्लाही–३ का बलिया उम्मेदवार

    २०७४ मा एक्लै चुनाव लडेका नरेन्द्र साहलाई गठबन्धनको साथ, सर्लाही–३ का बलिया उम्मेदवार

    अनलाइन नेपाल
  • बुधबार, १६ कार्तिक २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । २०७४ सालको निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ३ मा स्वतन्त्रबाट उम्मेदवार बनेर १२ हजार भन्दा बढी मत ल्याएका नरेन्द्र साह अहिले गठबन्धनको तर्फबाट सोही क्षेत्रमा उम्मेदवार बनेका छन् । २०७४ मा चुनाव जितेको माओवादी केन्द्र अहिले पनि नतिजा दोहोर्‍याउने योजनामा छ ।

    २०७४ को निर्वाचनमा सर्लाही ३ मा वाम गठबन्धन (एमाले–माओवादी केन्द्र) बाट माओवादीका रामेश्वर राय २२ हजार ३ सय ६७ मतसहित विजयी हुँदा स्वतन्त्र उम्मेदवार साह करिब १२ हजार मत ल्याएर तेस्रो भएका थिए। मनोनयनको ११ दिनअघि १२ असोजमा मात्रै माओवादीमा प्रवेश गरेका उनै साह सर्लाही–३ मा संघीय सांसदको उम्मेदवार बनेका छन् ।



    गठबन्धनको साथ पाएका साहलाई चुनाव जित्न कठिन नहुने अधिकांश नेताहरुको तर्क छ । तर, नेकपा एमालेले अघिल्लो पटक चुनाव जितेका हरि उप्रेतीलाई टिकट दिएकाले कडा प्रतिस्पर्धा हुने एमाले नेताहरु बताउँछन् । साह र उप्रेती दुवै पूर्व सभासद् हुन्। ०७० को दोस्रो संविधान सभा निर्वाचनमा साह महिन्द्र राय यादव नेतृत्वको तत्कालीन तराई–मधेस समाजवादी पार्टीबाट समानुपातिक सांसद बन्दा उप्रेती प्रत्यक्ष निर्वाचित भएका थिए।



    माओवादी पार्टी प्रवेश गर्नासाथ टिकट पाएका साह माओवादीप्रतिको आस्था र विश्वास पुरानै भएको बताउँछन् । छोटो समयमाम माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताको विश्वास जितेका साह आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो अभियान चलाइरहेका छन्।
    साह आफ्नो जित सुनिश्चित भएको दावी गर्छन् । उनी भन्छन्–‘गठबन्धका सबै साथीहरु एक ढिक्का भएर निर्वाचन अभियानमा सहभागी बन्नु भएको छ।’

    अघिल्लो चुनावमा एक्लै हुँदा पनि जनताले आफूलाई विश्वास गरेको दावी गर्दै उनी भन्छन्–‘त्यतिबेला एक्लै निर्वाचन अभियानमा होमिँदा पनि १२ हजार ८६ मत ल्याएको थिएँ। जनताको विश्वासलाई म सम्मान गर्छु। अहिले निर्वाचन लड्दै गर्दा त्यो मत मेरो लागि प्रेरणाको स्रोत बनेको छ।’
    आफ्नो क्षेत्रमा गठबन्धनका सबै दलबीच राम्रो सहकार्य भएकाले गठबन्धन दलको शतप्रतिशत मत आफ्नो पक्षमा खस्ने उनको दावी थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार