काठमाडौं । आचारण विपरीत काम गर्ने दुई जना सशस्त्र प्रहरी नायव निरीक्षकहरूलाई निलम्बन गरि विभागीय कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तुमा कार्यरत सशस्त्र प्रहरी नायव निरीक्षक गोविन्द सुवेदी र सशस्त्र प्रहरी बल नेपाल बिओपी छिन्नमस्ता सप्तरीमा कार्यरत सशस्त्र प्रहरी नायव निरीक्षक कृष्ण बहादुर मगरलाई निलम्बन गरिएको हो ।
उनीहरूविरुद्ध विभागीय कारबाही प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरी मुख्यालयले जनाएको छ ।
सशस्त्र प्रहरी नायब निरीक्षक सुवेदीले यही कात्तिक ४ गते निर्वाचन सुरक्षा बेस स्थापनाका लागि सशस्त्र प्रहरी कर्मचारीहरू पुर्याई कार्यालय फर्कने क्रममा दिइएको जिम्मेवारी सही ढंगले निर्वाह नगरेपछि सवारी दुर्घटना हुन पुगेको सशस्त्र प्रहरीले जनाएको छ।
यस्तै सशस्त्र प्रहरी नायब निरीक्षक मगरले गत असोज २० गते भारतीय भूमिमा मृत अवस्थामा फेला परेका सशस्त्र प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवको घटनामा प्रारम्भिक छानबिन गर्दा विभागीय नीति तथा आदेशविपरीत कार्य गरेको खुलेको छ ।