काठमाडौं । जबरजस्ती करणीको आरोपमा हिरासतमा रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले प्रहरीसँगको बयानमा आफू निर्दोष रहेको बताएका छन् ।
लामिछानेले पीडित भनिएकी किशोरी र आफू राति एउटै कोठामा रहे पनि शारीरिक सम्बन्ध नराखेको बताएका हुन् । काठमाडौँ जिल्ला अदालतमा दायर अभियोगपत्रमा सन्दीपको उक्त बयान उल्लेख छ ।
उनले आफू जाहेरीकर्ताकै जोडबलमा नगरकोट घुम्न गएको बताएका छन् । साथै फर्किएर काठमाडौं आएपछि पनि निजकै आग्रहमा काठमाडौं इन होटलमा राति बास बसेको पनि सन्दीपको दाबी छ ।
राति एउटै कोठामा बसेको स्वीकार गरे पनि एउटै बेडमा नसुतेको सन्दीपको बयान छ । किशोरी बेडमा र आफू कुर्सीमा बसेर लामो समय कुराकानी गरेको तथा आफू कुर्सीमै केहीबेर निदाएको उनले बताएका छन् ।
‘म धेरै बेर कुर्सीमा बसेको देख्दा निजले मलाई बेडमा आएर बस्नसमेत आग्रह गरेकोमा होइन, म यहीं ठीक छु भन्दै निजको आग्रहलाई अस्वीकार गरी कुर्सीमा बसें र निज बेडमै थिइन् । मैले मेरो मोबाइलमा बिहानको ०६ः०० बजे अलार्म लगाइ कुराकानी गर्दागर्दै म कुर्सीमा निदाएँ ।
बिहान ०६ः०० बजे अलार्म बजेपछि म निद्राबाट बिउँझिएर हेर्दा निज सुतेकी थिइन्, मैले निजलाई उठाएँ’, सन्दीपको भनाइ छ । बिहान उठेर आफूले किशोरीलाई आफ्नै गाडीमा होस्टलसम्म पु¥याइदिएको पनि उनको भनाइ छ ।
यसैगरी लामिछानेविरुद्ध जबरजस्ती करणीको जाहेरी दिने किशोरीले आफूमाथि दुईपटक जबरजस्ती करणी भएको बयान दिएकी छिन् । प्रहरीमा दिएको जाहेरीमा किशोरीले घटनाको बारेमा आफूमाथि भदौ ५ गते राती दुईपटक जबरजस्ती करणी भएको बयान दिएकी हुन् ।
जाहेरीमा किशोरीले आफू निदाएको बेला आफूमाथि जबरजस्ती करणी भएको र पहिलो करणी भएको एक घण्टापछि पुनः आफूमाथि बलात्कार भएको आरोप लगाएकी छिन् ।
सन्दीपले आफूलाई नगरकोटमा पुराएर त्यहीँसमेत राख्न खोजेकामा आफू त्यहाँ बस्न अस्वीकार गरी गाडीबाट नओर्लिएपछि आफूलाई काठमाडौँ ल्याएर होटल काठमाडौँ इनको कोठा नम्बर ३०५ मा दुईपटक बलात्कार गरिएको बताएकी छिन् ।
आज प्रहरीले अदालतमा बुझाएको अभियोग पत्रमा समावेश बयानमा उनले सन्दीपले झुक्क्याएर नगरकोट लगेको तथा फर्किएर काठमाडौंको एउटा होटलमा राखी राति करणी गरेको दाबी गरेकी हुन् ।
करणीका क्रममा सन्दीपले आफूलाई पिटेको समेत उनले बयान दिएकी छन् ।
Leave a Reply