काठमाडौं । नेकपा माओवादी केन्द्रले राजनीतिक स्थिरता, सरकारको आवधिक स्थायित्व, शान्ति र समृद्धिको यात्रा पूरा गर्न संविधान संशोधनलाई प्राथमिकताका साथ अघि सारेको छ।
सोमबार चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गर्दै माओवादी केन्द्रले विद्यमान शासकीय स्वरूप र पद्धतिमा परिवर्तन गर्न आवश्यक भएको कुरालाई ध्यानमा राखेर संविधान संशोधनमा जोड दिएको हो।
माओवादीले प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्नेमा धारणा राख्दै आएको छ । त्यस्तै राज्य पुनर्संरचना आयोग गठन गरी स्वायत्त, संरक्षित र विशेष क्षेत्र घोषणा गर्ने समेत घोषणा पत्रमा उल्लेख गरिएको छ।
राज्यका अरु निकायका संरचनामा पनि परिवर्तन आवश्यक रहेको माओवादीले घोषाणा पत्रमा उल्लेख गरेको छ । संघमा ५१ प्रतिशत मतद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र राष्ट्रपतिद्वारा गठित मन्त्रीमण्डल रहने व्यवस्था गरिने उल्लेख छ।
प्रतिवद्धतापत्रमा प्रदेशमा पनि संघमा जस्तै प्रत्यक्ष निर्वाचित प्रदेश प्रमुख र प्रदेश प्रमुखद्वारा गठित मन्त्रीमण्डल रहने र विधायन क्षेत्रमा मात्र केन्द्रित हुने प्रदेश सभाको गठन गरिने उल्लेख छ।