Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेसका महामन्त्री गगन थापालाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्यको उम्मेदवार गगन कुमार थापालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

‘फेरी पनि काठमाडौँ क्षेत्र नं. ४ का वासिन्दाको निम्ति निःशुल्क डेंगी परीक्षण तथा परामर्श सेवा लिएर तपाईंहरूको टोलमा आउँदैछौँ’, ‘डेंगीको बिरामी भई घरमै बस्नु भएकाहरूका लागि आवश्यक चिकित्सकीय परामर्श पनि उपलब्ध गराउने छौँ र तपाईंलाई डेंगीको परीक्षण र परामर्श आवश्यक भएमा मोबाइल नम्बर ९८६०३४०५८७ मा आफ्नो नाम, ठेगाना, सम्पर्क नम्बर एसएमएस गर्नु हुन अनुरोध छ’ भन्ने व्यहोराको ट्वीट गरिएको भनी आयोगमा उजुरी प्राप्त भएपछि स्पष्टीकरण सोधिएको हो ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा ४, सबैले पालना गर्नु पर्ने आचरण अन्तर्गत खण्ड (न) मा ‘कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ व्यवस्था रहेको छ ।

स्पष्टीकरण पत्रमा भनिएको छ–निर्वाचन आचारसंहिता लागू भई सकेको जानकारी हुँदा हुँदै तपाईंले निर्वाचन आचारसंहिताको विपरीत हुनेगरी ट्वीटरमार्फत मतदातालाई प्रभावित गर्ने कार्य देखिएकाले कुनै माध्यमबाट पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ ।

निर्वाचनमा मतदातालाई स्वतन्त्र रूपमा मतदान गर्न पाउने अन्तरनिहीत हक रहेको सन्दर्भमा निर्वाचनको स्वच्छता र निष्पक्षताको प्रतिकूल हुने गरी ‘निःशुल्क डेंगी परीक्षण तथा परामर्श सेवा र आवश्यक चिकित्सकीय परामर्श सेवा प्रदान गर्छौं’ भन्ने समेत विषय उल्लेखित ट्वीट तपाईंले नै गर्नुभएको होइन भन्ने आधार र कारण के छ ?

साथै तपाईंले आफ्नो ट्वीटर एकाउन्टमार्फत गर्नुभएको सार्वजनिक सूचना निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (न) प्रतिकूल भई उक्त कार्यबाट निर्वाचन आचारसंहिताको उल्लंघन हुन गएकोले तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिमको कारवाही किन हुनु नपर्ने हो ? स्पष्ट पार्न भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077