काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
अघिल्लोपटक थपिएको चार दिनको म्याद सकिएपछि प्रहरीले आज लामिछानेलाई जिल्ला अदालतमा उपस्थित गराएको थियो । अदालतले आज दुई दिनको म्याद थपेको हो ।
प्रहरी वृत्त गौशालाले अनुसन्धान नसकिएको भन्दै उनलाई थप हिरासतमा राख्न आइतबार अदालतसँग अनुमति मागेको थियो।
प्रहरीले अनुसन्धान सकाएपछि प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंसमक्ष पेस गर्नेछ। त्यसपछि थुनछेकको बहसको काम सुरू हुनेछ।
२० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका उनीमाथि प्रहरीले २० असोजबाटै गणना हुने गरी पहिलोपटक गत २४ असोजमा सात दिनको म्याद थप गरेको थियो।
दोस्रोपटक २७ असोजमा पाँच दिनको म्याद थप गरेको थियो। गत बुधबार उनलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो।
गत भदौ ५ गते १७ वर्षीय नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपबिरुद्ध जाहेरी परेको थियो। उनीमाथि प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ।
Leave a Reply