Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एसईईमा ‘ए’ प्लस ल्याउने विद्यार्थीलाई मासिक भत्ता

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले सामुदायिक विद्यालयबाट एसईईमा ‘ए’ प्लस अङ्क ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई मासिक भत्ता दिने भएको छ।

नगरसभाबाट पारित भएको उक्त कार्यक्रम नगरको चालु वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन भएसँगै लागू भएको हो। कुश्मा नगरपालिकाले विद्यार्थीहरुको पढाइप्रतिको लगाव बढाउन तथा सामुदायिक विद्यालयमा पढ्न उत्प्रेरित र प्रोत्साहन गर्ने उद्देश्यले मासिक भत्ताको व्यवस्था गरेको नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिए।

मासिक रुपमा विद्यार्थीहरुलाई रु दुई हजार भत्ता दिन सुरु गरिएको जोशीले बताए। यसले विद्यार्थीलाई पढाइमा ऊर्जा मिल्नाका साथै विपन्न बालबालिकालाई थोरै भए पनि आर्थिक समस्यासमेत टर्ने विश्वास रहेको उनको भनाइ छ।

यस्तो भत्ता एसईई पास भएर कक्षा १२ को पढाइ नसकिने बेलासम्म दिइने नगरपालिकाले जनाएको छ।

एसईईमा ‘ए’ प्लस ल्याएर कक्षा ११ मा फेल भएमा भने भत्ता कटौती हुने गरी कार्यविधि बनाइएको छ। सामुदायिक विद्यालयका बालबालिकालाई भत्ता दिए पनि संस्थागत अर्थात् निजी बोर्डिङमा पढ्ने विद्यार्थीहरुलाई भने नदिइने नगरप्रमुख जोशीले बताए। रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077