पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४ मंसिरमा हुने चुनावमा आफ्नो पार्टीलाई मात्र भोट हाल्छु भन्नु आत्मघाती हुने बताएका छन् ।
पोखरामा सत्ता गठबन्धनका कार्यकर्तालाई प्रशिक्षण दिँदै प्रचण्डले यस्तो बताएका हुन् ।
प्रचण्डले भने, ‘निर्वाचनमा हँसिया हतौडाकाले रुखमा, रुखवालाले हँसिया हतौडामा वा कलममा भोट हाल्दिनँ भनेको पनि सुनेको छु ।
गठबन्धनलाई भोट नहाल्नु सुसाइड हो । तपाईं आफू नि जित्नु हुन्नँ, अर्काले नि जित्दैन । प्रतिगमनको खतरा मिलेर मात्रै परास्त गर्न सकिन्छ ।’
संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन गरेको भन्दै प्रचण्डले यसको लाभ पनि दलहरुले पाएको बताए ।
‘स्थानीय तहको निर्वाचनमा सबभन्दा बढी कांग्रेसले लाभ लिएको छ भने अरूले पनि लिएका छन् । तर सोचेजस्तो भएन’, उनले भने, ‘गठबन्धनलाई भोट हाल्दिन भन्दा पाप पलाउन सक्छ, पाप धुरीबाट कराउँछ ।’
ठूलो संघर्षपछि ल्याएको परिवर्तन उल्ट्याउन र राष्ट्रिय एकता खण्डित गर्न एमाले नेतृत्वको गठबन्धन बनेको प्रचण्डको आरोप छ । देशलाई घातकरूपमा पछि धकेल्न अर्को गठबन्धन उद्धत रहेको उनले बताए ।
Leave a Reply