काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एमसीसी पारित हुनुअघि आफूहरुले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर प्रधानमन्त्रीको प्रस्ताव गरेको खुलासा गरेका छन् ।
माओवादी सम्पर्क समन्वय समितिको प्रशिक्षण कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै श्रेष्ठले एमसीसी फेल गराउने सर्तमा ओलीलाई प्रधानमन्त्री प्रस्ताव गरेको बताएका हुन् ।
श्रेष्ठले भने, ‘एमसीसी पारित हुनुअघि नेकपा एमालेको केपी ओलीसहितको टोलीसँग वार्ता गर्न हामी गयौं । हामीले नै प्रस्ताव राख्यौं, एमसीसी असफल गर्न साथ दिनुस् ।
ओलीले हिजो एमसीसी पारित गर्नुपर्छ नै भन्या हो । तर, अब राष्ट्रियताको मुद्दामा फेरि हामी मिलौं भनेर भनेका थियौं । एमसीसी असफल भएपछि गठबन्धन टुट्छ, त्यसपछि तपाईं नै फेरि प्रधानमन्त्री हुनुस् भन्नेसमेत हाम्रो प्रस्ताव थियो ।
अनि, वाम तालमेल गरेर चुनाव जाउँ भनेर पनि आग्रह गरिएको थियो । तर, ओलीजी एमसीसी असफल बनाउन तयार हुनुभएन ।’
श्रेष्ठका अनुसार उक्त बैठकमा एमालेबाट ओलीसहित ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङलगायतका नेताहरु थिए ।
यस्तै माओवादीबाट अध्यक्ष प्रचण्ड र आफूसहितका केही नेताहरु रहेको उनले बताए । अहिलेको गठबन्धन संविधानको रक्षाका लागि बाध्यात्मक रुपमा बनाएको दाबी उनले गरे ।
Leave a Reply