धनगढी । ४ मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दिएका रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ । नागरिक उन्मुक्ति पार्टीको तर्फबाट बर्दिया-२ मा प्रतिनिधि सभामा मनोनय दर्ता गराएका चौधरीको उम्मेदवारी खारेज भएको हो ।
२०७२ सालमा कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा दोषी ठहर भएर कैद भुक्तान गरिरहेका चौधरीको उम्मेदवारी खारेज भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले खारेज जनाएको छ ।
चौधरी जिल्ला अदालत कैलाली र उच्च अदालत डोटीबाट दोषी ठहर भएको र २०७४ फागुन १४ गतेदेखि निरन्तर कैदमा रहेको पुष्टि भएकाले उम्मेदवारी खारेज भएको आयोगले जनाएको छ ।
जिल्ला र उच्च अदालतले दोषी ठहर गरेका चौधरीले डिल्लीबजार कारागारमा अहिले कैद सजाय भोगिरहेका छन् ।
२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थारु समुदायको आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जनाको मृत्यु भएको थियो । सो घटनामा संलग्नताको आरोप लागेका चौधरीले फरार रहेकै अवस्थामा २०७४ सालको प्रतिनिधसभा निर्वाचनमा निर्वाचित भएका थिए ।