डडेल्धुरा । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूविरुद्ध परेको उजुरीको जवाफ बुझाएका छन् ।
आसन्न निर्वाचनका उमेदवार देउवाले मंगलबार पत्नी आरजु राणा देउवामार्फत मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जवाफ बुझाएका हुन् ।
उमेदवारविरुद्ध परेका उजुरीको निर्णय निर्वाचन अधिकृतले नै गर्न पाउने कानुनी व्यवस्था छ ।देउवापत्नी आरजुले प्रमाणका रूपमा वडा कार्यालयको सिफारिस पनि बुझाएकी छन् ।
नागरिकताअनुसार नै निर्वाचन आयोगले मतदाता नामावली तयार पारेकाले विवरण प्रविष्ट गर्दा आयोगले नै त्रुटि गरेको जवाफमा उल्लेख गरिएको छ ।
एउटामात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको डडेलधुराबाट उमेदवारी दिएका देउवाको उमेदवारी रद्द गर्नुपर्ने माग गर्दै उनका प्रतिस्पर्धी कर्ण मल्लले सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए ।
देउवाको नागरिकता र मतदाता नामावलीमा फरक–फरक जन्ममिति रहेको भन्दै मल्लले उमेदवारी खारेजीको मागसहित उजुरी दिएका हुन् ।
नागरिकतामा देउवाको जन्ममिति वि.सं.२००३ साल जेठ ३१ गते र मतदाता नामावलीमा जन्ममिति २००२ साल जेठ ३१ गते रहेको पाइएको थियो ।
Leave a Reply