काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकको सम्मानपूर्ण जीवन सुनिश्चित गर्नु सबैको कर्तव्य रहेको बताएकी छन्।
३२ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा आज शुभकामना दिँदै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।
उनले ज्येष्ठ नागरिकलाई सार्वजनिक सेवामा सहज पहुँच सुनिश्चित गर्न गरिएका व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न ध्यानाकर्षण गराएकी छन्।
ज्येष्ठ नागरिक आफ्नो जीवनभरको सङ्घर्ष र भोगाइबाट आर्जित ज्ञान, सीप र अनुभवका खानी रहेको जनाउँदै उनले ज्येष्ठ नागरिकको ज्ञान र अनुभवबाट आजको युवा पुस्ताले जीवनोपयोगी सिकाइ ग्रहण गर्न सक्नुपर्ने उनको भनाइ छ।
आफ्नो जीवनको ऊर्जाशील र उत्पादनशील समय राष्ट्रका लागि योगदान गरेका ज्येष्ठ नागरिकको जीवनलाई सहज र सुरक्षित बनाउन सरकारले ज्येष्ठ नागरिक स्वास्थ्य बीमा, सामाजिक सुरक्षा भत्तालगायत सेवा र सुविधाको व्यवस्था गरेको जनाउँदै उनले ज्येष्ठ नागरिक लक्षित कार्यक्रमहरूलाई थप विस्तार गर्दै लैजानुपर्ने बताए।
Leave a Reply