Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चुनाव लड्ने मनस्थितिमा छैनन् बाबुराम, भन्छन् - के सबैले सधै चुनाव लड्नैपर्छ ?

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पुरानो बाटो हिँडेर नयाँ ठाउँमा नपुग्ने टिप्पणी गरेका छन् । आगामी निर्वाचनमा प्रत्यक्षतर्फ चुनाव नलड्ने मनस्थितिमा पुगेका डा. भट्टराईले यस्तो टिप्पणी गरेका हुन् । विश्व तथा नेपालको समाजवादी आन्दोलनका अनुभवबाट सिकेर अगाडि बढ्नु पर्ने उनले बताए ।

“हामीले आउट अफ बक्स गएर सोच्ने र गर्ने आँट गर्नैपर्छ,” उनले ट्विट गर्दै भनेका छन्, “पुरानै बाटो हिँडेर नयाँ ठाउँमा पुगिन्न ।” पछिल्लो समय भट्टराई चुनाव लड्ने मनस्थितिमा छैनन्। उनले आफू चुनावदेखि चुनावसम्मको राजनीतिबाट माथि उठेर वैचारिक क्षेत्रमा काम गर्न चाहेको निकटहरूसँग भनिरहेका छन्। उनी समानुपातिकतर्फ पनि बस्ने पक्षमा देखिएका छैनन् ।

भट्टराईले बिहीबार फेसबुकमा लेख्दै सबैले सधैं चुनाव लड्नैपर्छ भन्ने नरहेको प्रसंग पनि उल्लेख गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, 'के सबैले संधै चुनाव लड्नैपर्छ ? समाज रूपान्तरण, विकासरसमृद्धि,समुन्नत समाजवाद निर्माणको राजनीतिक यात्रा गर्नेहरूले चुनावदेखि चुनावसम्मको बाटो मात्र हिॅडेर हुन्छ ? सडक-सदन-सरकारको क्षेत्रबाट एकीकृत संघर्ष गर्दै समुन्नत समाजवादको दिशामा जाने हो भने नेतृत्वको मूल टिमको कार्यविभाजन पनि सोही अनुरूप गर्नु आवश्यक नहोला र ? क. प्रचण्ड र म जीवनको अन्तिम कालखण्डमा पुनः एकचोटि नयॉ उॅचाइमा उठेर सहकार्य गर्न यस्तै यस्तै छलफल गरिरहेछौं ! तपाईंहरूको सल्लाह सुझाव अपेक्षित छ !'

२०७४ को चुनावमा गोरखा २ बाट वामगठबन्धनका नारायणकाजी श्रेष्ठ र लोकतान्त्रिक गठबन्धनबाट बाबुराम भट्टराई चुनाव लडेका थिए। नेपाली कांग्रेसको समर्थनमा तत्कालीन नयाँ शक्तिका अध्यक्ष बाबुराम भट्टराईले त्यसबेला चुनाव जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077