काठमाडौं । संयुक्त राष्ट्र संघको आह्वानमा दक्षिण सुडानमा खटिएको नेपाली सेनाको टोली बदली भएको छ ।
त्यहाँ तैनाथ श्रीजंग गण (शान्ति सेना) ११औँ डफ्फालाई बदली गर्न बिहीवार शेर गण (शान्ति सेना), एसआईबीको १२औँ डफ्फाको अन्तिम टोली त्यसतर्फ प्रस्थान गरेको हो ।
सेनानी सुरज थापाको नेतृत्वमा २३२ जना नेपाली शान्ति सैनिकहरू राष्ट्र संघको चार्टर फ्लाइट नेपाल एयरलाइन्सको एयरबस ३३० मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मिसन इलाकातर्फ प्रस्थान गरेको सेनाले जानकारी दिएको छ ।
उक्त मिशनमा तैनाथ श्रीजंग गण (शान्ति सेना) ११औँ डफ्फाको अन्तिम टोली प्रमुख सेनानी शिखर जबराकाे नेतृत्वमा २२९ जना नेपाली शान्ति सैनिकहरू बिहीवार नै स्वदेश फर्कने सेनाले जानकारी दिएको छ ।
संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यमा नेपाली सेना लामो समयदेखि विभिन्न देशमा कार्यरत मिसनहरूमा खटिदै आएको छ ।