काठमाडौं । सर्वोच्च अदालतका चार पूर्व प्रधानन्यायाधीशहरू पनि प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिको छलफलमा नजाने भएका छन् ।
समितिले बिहीबार दिउँसो १ बजेका लागि पूर्व प्रधानन्यायाधीहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई छलफलका लागि बोलाएको थियो ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले समितिलाई दिएको बयानका क्रममा पूर्वन्यायाधीहरूले पनि सर्वोच्चलाई दबाब दिने गरेको, आफूलाई मुद्दाको सुनुवाइमा दबाब दिएको लगायतका आरोप लगाएका थिए।
तर, उनीहरुले समितिमा उभिएर आफूहरुले बयान दिन उपयुक्त नहुने भएकाले समितिलाई सम्मान गर्दै नजाने निर्णय गरेको पूर्वप्रधानन्यायाधीश अनुपराज शर्माले बताए।
पूर्वप्रधानन्यायाधीशहरू उक्त छलफलमा जानु उपयुक्त नहुने सल्लाह भएको र आफूहरूले यसबारे आफ्नो धारणा लिखित रूपमै केही बेरमा सार्वजनिक गर्ने पूर्वप्रधानन्यायाधीश शर्माले बताए।
राणाले समितिसमक्ष बयानका क्रममा नाम लिएका ६ न्यायाधीश र ४ पूर्वप्रधानन्यायाधीशलाई समितिले सोधपुछका लागि बिहीबार बोलाएको थियो। पूर्वन्यायाधीश समाजले पनि बुधबार नै आफ्नो धारणा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिसकेको छ।
Leave a Reply