काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र मापदण्डविपरीतका बनाइएकामध्ये ३९ ठाउँमा डोजर चलाएर अनधिकृत संरचना भत्काएर खाली गरेको छ।
महानगरपालिकाले १९ ठाउँका बेसमेन्ट तथा जमिन तलाको व्यवसायिक प्रयोजन हटाएर पार्किङका लागि खाली गराएको छ। नक्सा स्वीकृत गर्दा पार्किङ र भण्डार कक्ष देखाएर सुविधा लिएका र निर्माणपछि व्यवसायिक लाभमा प्रयोग भएका संस्थागत तथा व्यक्तिगत भवनका भूमिगत तथा जमिन तला खाली गराएको हो। यसैगरी २० ठाउँका मापदण्डविपरीत निर्माण गरिएका अनधिकृत संरचनाहरु, ओभरल्यापिङ् र सेडब्याक हटाएको छ।
‘पार्किङ् प्रयोजनका लागि निर्माण भएका संरचनाहरुमा पार्किङ् नै गराउनु पर्छ। यसअघि आफूसँग भएको कार्यकारिणी अधिकार प्रयोग नगर्दा अहिलेको भयावह अवस्था आएको हो। यसलाई वेवास्ता गर्नु भनेको सहरलाई थप विगार्नु हो। यसो भयो भने हाम्रा पुस्ताले हामीलाई राम्रो मान्दैनन्।’ काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) कारवाहीका विषयमा भन्छन्– ‘नक्सा स्वीकृत गर्ने बेलामा व्यक्ति तथा संस्थाले महानगरबाट सुविधा लिएको तर, आफूले महानगरसँग गरेको कवुलियत तथा सर्त पूरा नगरेकाले कारवाही गर्नुपरेको हो।’
वेसमेन्ट तथा जमिन तलालाई पार्किङ रुपमा खाली गराइएका ठाउँहरुमध्ये वडा नं. १ दरबारमार्ग २ वटा भवन छन्। यिनीहरु नेपाल ट्रस्ट र दरबार मलको भूमिगत तला हुन्।
वडा नं. १४ कलंकीमा रहेको स्मार्ट तारा हाउसको भूमिगत तलामा रहेको कपडा पसल र एभरेष्ट गेष्ट हाउसको भूमिगत तलामा रहेको खाजा घर हटाउने काम भएको छ। वडा नं. २६ सामाखुशीमा रहेको पुरानो अल नेपाल अस्पताल र खड्का भवन तथा रानीबारीमा रहेको सेन्च्युरी बैंक परिसरभित्र रहेका अनधिकृत पसलहरु हटाइएका छन्।
वडा नं. १० बानेश्वरमा पर्ने ५ जनाको स्वामित्व रहेको बानेश्वर प्लाजाको ई ब्लकमा भएको संरचना हटाएर ५ वटै घरको पार्किङ् बनाउने काम भएको छ। यसै गरी अल्फा विटा कम्प्लेक्सको भुमिगत तलामा ताला लगाइएको छ। यही वडाका बर्गर हाउस, यूएफओ, रारा कम्प्लेक्स र जी सपले महानगरको सूचना पालना गर्दै अनधिकृत संरचना र अनधिकृत उपयोग हटाएका छन्।
वडा नं. २२ सुन्धारास्थित काठमाडौं मलको भुइँ तलामा रहेको सटर हटाएर पार्किङ्का लागि खाली गरिएको छ। यही वडामा रहेको आरवी कम्प्लेक्स परिसरमा रहेका अनधिकृत टहरा हटाइएको छ। बीरा कम्प्लेक्सको भूमिगत तलामा रहेको होलसेल पसल हटाएर गोदाम मापदण्डबमोजिम सञ्चालन गर्ने सहमति गरिएको छ। वडा नं. २४ मा पर्ने सुरज आर्केट र कासा भवनको भुइँतला खाली गराइएको छ।
अनधिकृत संरचना कहाँ कहाँ हटाइयो
वडा नं. ३ को बसुन्धरा चोकबाट सिर्जनशील मार्गसम्मको करिव ९ सय मिटर जीएलडी (गाइडेड ल्याण्ड डिभलपमेन्ट÷निर्देशित जग्गा विकास कार्यक्रम) बाटो खोलिएको छ। यसक्रममा झण्डै १ सय घरका अनधिकृत कम्पाउण्ड भत्काइएको छ। वडा नं. ४ बालुवाटार विशालनगरस्थित मल्पी स्कूलले सार्वजनिक जग्गा अतिक्रमण गरेर लगाएको जस्ताको बारसहितका संरचना हटाइएको छ। वडा नं. ५ क्षेत्रका सार्वजनिक ठाउँमा बनाइएका ओभरल्यापिङ् हटाइएको छ। वडा नं. ८ पाशुपत क्षेत्र सडक पेटीमा रहेको अनधिकृत संरचना, ओभरल्यापिङ् र विज्ञापनमुलक सामग्री हटाइएको छ।
वडा नं. १० को देउराली क्लबवरिपरि सडक पेटीमा राखिएका निर्माण सामग्री हटाइएको छ। वडा १६ को ढुङ्गेधारा, वडा नं. १७ को धोबीचौर, वडा २४ को सुरज आर्केड अगाडिको सिँढी हटाइएको छ। वडा नं. १६ कै माछापोखरी नापतौल कार्यालय अगाडि र महादेव खोला किनारमा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका स्थायी र अस्थायी गरेर ४३ वटा संरचना हटाइएको छ। यही वडाको नयाँबजार जग्गा एकीकरण आयोजनाभित्र रहेको जुडो हल वरिपरि विभिन्न व्यवसाय गर्न बनाइएका ६ वटा अनधिकृत टहरा हटाइएको छ।
महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डे कारवाहीका विषयमा जानकारी दिँदै भन्छन्, ‘स्वीकृत भएका मापदण्डविपरीतका संरचना हटाउन दिएको सूचना अटेर गरेपछि आफैंले भत्काउन जानु परेको छ।’ उनकाअनुसार वडा नं. २४, २५ र २७ सँग जोडिएका असन, इन्द्रचोक, वडा २४ को मखनदेखि विशालबजारतर्फ आउने गल्लीका, वडा २५ मा रहेका सन्तानेश्वर भवानी शंकर मन्दिर, उमा शंकर मन्दिर र सडक पेटीमा अतिक्रमण गरेर राखिएका संरचना र ओभरल्यापिङ् संरचना हटाइएको छ।
वडा नं. २६ मा नयाँ बसपार्क मित्रनगरदेखि म्हेपी मन्दिरसम्मका अनधिकृत सेड व्याक, ओभरल्यापिङ, अनुमति नलिई राखिएका विज्ञापन बोर्ड हटाइएको छ। वडा नं. २९ हनुमान स्थान चिकेन क्युन रेष्टुरेन्टको घर खाली गराइएको छ।
वडा नं. ३२ कोटेश्वर, अरनिको राजमार्ग दायाँबायाँ क्षेत्रमा भएका अनधिकृत संरचना, स्वीकृति नलिइ राखिएका विज्ञापन बोर्ड हटाइएको छ। नरेफाँट क्षेत्रमा माइकिङ गरेर सचेत गराइएको छ। यस्तै भाटभटेनी सुपर मार्केटको भूमिगत तलालाई पार्किङका लागि खाली गराइएको छ।
Leave a Reply