काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले दिगो विकासको लक्ष्य भेट्टाउन ९० बिलियन डलर लगानी चाहिने बताएका छन् । नेपाल लगानी बोर्डले आयोजना गरेको दिगो पूर्वाधार लगानी फोरममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले उक्त लगानी आवश्यक पर्ने बताएका हुन् ।
प्रधानमन्त्री देउवाले भने– ‘सन् २०४५ सम्म जेरो कार्बन उत्सर्जनको लक्ष्य राखिएको छ । यो दिगो विकासको लक्ष्य समेत हो । यसका लागि नेपालमा ठूलो लगानी चाहिन्छ । त्यो लगभग ९० बिलियन अमेरिकी डलर हो ।’
उक्त लगानी हुन सकेमा सन् २०४५ सम्म भेट्ने लक्ष्य राखिएको जेरो कार्बन उत्सर्जनसहितको दिगो विकास लक्ष्य भेटिने देउवाले बताए ।
‘नेपालमा पूर्वाधारमा लगानी आवश्यक छ । पूर्वाधारमा लगानी विना रोजगारी सृजना हुन सक्दैन,’ देउवाले भने, ‘यसका लागि स्वदेशी र विदेशी लगानीकर्ताले नेपालमा लगानी गर्नुपर्छ ।’
निजी क्षेत्रका लगानीकर्ताहरूसँग पब्लिक प्राइभेट पार्टनरसीप (पीपीपी) मोडलमा विकासका कार्यक्रम अघि बढाउन सरकार तयार रहेको देउवाको भनाइ छ ।
नेपालमा रहेको सिमित स्रोत साधनले उक्त लक्ष्य नभेट्ने भएकाले विदेशी लगानी समेत आवश्यक रहेको उनले बताए ।
Leave a Reply