काठमाडौं । गायिका समीक्षा अधिकारीले कारागारमा रहेका नायक पल शाहले दिने क्षतिपूर्ति रकम नलिने बताएकी छिन् । मंगलबार राति सामाजिक सञ्जालमार्फत उनले अहिलेसम्म क्षतिपूर्ति बापत वा अन्य कुनै पनि रकम नलिएको बताएकी हुन् ।
‘क्षतिपूर्ति बापतको उक्त रकम लिने मेरो मनसाय पनि छैन,’ उनले भनिन्,’म आफ्नो अस्मिता रक्षाका लागी आफ्नो ठाउँमा अडिग छु। यहाँहरुको साथ सहयोग र सकारात्मक बिचारले मेरो सांगितिक क्षेत्रमा समेत सहयोग पुग्ने आशा लिएकी छु ।’
यस्तै गायिकाले पलको केससँग जोडेर सामाजिक सञ्जालमा आफूलाई गाली गलौज गरेका कारण मानसपटलमा नकरात्मक प्रभाव परेको पनि बताएकी छिन् । साथै विगतमा भएको घटना आफ्नो र नेपालको कलाकारिता क्षेत्रका निम्ति नै दुःखद घटना भएको जिकिर गरेकी छिन् ।
‘यहाँहरू सबैलाई अवगत भएकै कुरा हो। म लामो समयदेखि एउटा दुस्खद घटना भोगिरहेकी छु । उक्त घटना मेरो र नेपालको कलाकारिता क्षेत्रका निम्ति नै दुस्खद घटना हो । सामाजिक सञ्जालमा मेराविरुद्ध बनेका लज्जास्पद तस्बिर र गाली गलौजले गर्दा मेरो मानसपटलमा नकरात्मक प्रभाव परेको छ । कृपया आफ्नै घरको घटना जस्तो सम्झेर मेरो समस्यालाई नियालिदिनुहोला,’ उनले भनेकी छन् ।
Leave a Reply