पर्वत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गठबन्धनको नाममा लोकतन्त्र धरापमा पार्न खोजिएको बताएका छन् ।
पर्वत सदरमुकाम कुश्माबजारमा मंगलबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् ।
उनले राजनीतिक दलका गलत क्रियाकलापहरुले नै मुलुक समस्यामा पर्दै गएको बताए । उनले भ्रष्टाचार र अनियमितता मौलाउँदै गएको प्रति चिन्ता व्यक्त गर्दै शीर्ष दलहरुले भ्रष्टाचारलाई संस्थागत गर्दै लगेको समेत आरोप लगाए ।
उनले गठबन्धनको नाममा मुलुकको अस्तित्व समाप्त पार्ने र लोकतन्त्र धरापमा पार्न खोजिएको आरोप समेत लगाए । नीति, विचार र सिद्धान्त नमिल्ने दलहरु एक ठाउँमा उभिनु भनेको मिलिजुली खानका लागि बाहेक मुलुकका हितका लागि केहि उपलब्धी नहुने बताए ।
अध्यक्ष लिङ्देनले कांग्रेस, एमाले, माओवादीले तीस वर्षभन्दा बढि शासन गरेपनि नयाँ शब्द बाहेक काममा नयाँपन ल्याउन नसकेको बताए । ठूला दलहरुको पार्टी कार्यालय र कार्य समिति मात्र फरक रहेको तर भ्रष्टाचार गर्ने र देशलाई लुट्ने बेला एउटै दलजस्तै हुनेगरेको बताए ।