कास्की । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले निर्वाचनअघि माओवादी केन्द्रसँग कार्यगत एकता हुने बताएका छन् ।
समाजवादी प्रेस संगठनले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले निर्वाचनअघि माओवादी केन्द्रसँग पार्टी एकता सम्भव नभएको र कार्यगत एकता मात्र हुने बताएका हुन् ।
उनले आसन्न निर्वाचनमा दुई पार्टीको घोषणापत्रसहित चुनावी तालमेल भए पनि एकता नहुने स्पष्ट पारे । 'विगतको निर्वाचनमा माओवादी र एमाले साझा घोषणापत्र बनाएर चुनावमा गएका हुन्, अहिले पनि समाजवादी र माओवादी एउटै घोषणापत्र लिएर जान कुनै समस्या छैन,' उनले भने ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले आफू सधैँ वाम गठबन्धन र कम्युनिस्ट एकताका पक्षमा रहे पनि वाम घटकका नेतृत्वमा रहेका नेताले एकतामा रुचि नदेखाएको जिकिर गरे ।