Online Nepal
  • बुधबार, १० पुष २०८१
  • ५० लिटरको ट्यांकी भएको गाडीमा ५१ लिटर पेट्रोल गएपछि…

    ५० लिटरको ट्यांकी भएको गाडीमा ५१ लिटर पेट्रोल गएपछि…

    अनलाइन नेपाल
  • बिहिबार, २३ भाद्र २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । गुणस्तर तथा नापतौल विभागको सुस्तताले पेट्रोल पम्पहरुको ठगीधन्दा मौलाएको छ । २०७२ मा नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय (तत्कालीन अपराध अनुसन्धान महाशाखा) ले १३ वटा पम्पलाई ठगी आरोपमा कारबाही गरेयता अनुगमन सून्य छ । नापतौल विभागले पम्पहरुको अनुगमन गर्नुपर्नेमा गर्न सकेको छैन भने अन्य निकायहरुले समेत चासो नदिंदा ठगी बढेको छ ।

    पेट्रोल पम्पहरुले तौलमा ठगी गरे नगरेको अनुगमन र नियमन गर्ने काम नापतौल विभागको हो । तर नापतौल विभागले अनुगमन नगर्दा पम्पहरुको ठगी बढिरहेको उपभोक्ताहरुको गुनासो छ । प्रतिष्ठित ब्यक्तिहरुले नै संचालन गरेका पेट्रोल पम्पहरुमा समेत उपभोक्ता ठगीको शिकार भएका छन् । कालिमाटीमा रहेको माली आयल स्टोर्सको पम्पबाट ५० लिटर पेट्रोलको ट्यांकी भएको क्रेटा गाडीमा ५१ लिटर तेल हाल्दा मात्र भरिएको छ ।



    जबकि कुनै पनि गाडीमा कम्तीमा ६ देखि ७ लिटर तेल मौज्दात हुन्छ । मौज्दात तेल भएकाले बढीमा ४६ लिटर हाल्दा भरिनुपर्ने क्रेटा गाडीको ट्यांकीमा ५१ लिटर तेल कसरी अटायो ? तौलमा गडबड भएकैले ५० लिटर क्षमताको गाडीको ट्यांकीमा ५१ लिटर तेल गएको भए पनि माली आयलका कर्मचारीहरुले त्यो कुरा स्वीकार नै नगरेको गाडीधनी अरुणकुमार ज्ञवालीले बताए ।



    ५० लिटरको ट्यांकीमा पहिलाको ६ लिटरसमेत हुँदा कसरी ५१ लिटर पेट्रोल भयो भन्ने जिज्ञासा गाडीधनी अरुणकुमार ज्ञवालीले राख्दा पम्पका कर्मचारीले अहिलेसम्म कसैको गुनासो नआएको आलटाले जवाफ दिएका थिए । माली आयल स्टोर्सले ०२९ च ३१९४ नम्बरको क्रेटा गाडीमा बुधबार साँझ ५१ लिटर पेट्रोल हालेको पैसा लिएको ज्ञवालीले बताए ।

    ५० लिटरको ट्यांकी छ, कसरी ५१ लिटर गयो ? ज्ञवालीको प्रश्न छ–यस्तो ठगीमा गुणस्तर विभाग र आयल निगम जस्ता निकाय के हेरेर बसेका छन् ?

    ६ बर्षअघि २०७२ पुसमा महानगरीय प्रहरी अपराध महाशाखाले काठमाडौं उपत्यकाका १३ पेट्रोल पम्पहरुमा छापा मारेर तेल ठगी गर्ने उपकरणसहित १३ जनालाई पक्राउ गरी मुद्दा दायर गरेको थियो । इन्धन कालोबजारी र ठगी गरेको अभियोगमा उच्च ओहदाका कर्मचारी, पेट्रोल पम्प सञ्चालक र मिस्त्रीहरुसहित १३ लाई मुद्दा दायर गरिएको थियो ।

    नेपाल आयल निगमका थानकोट डिपो प्रमुख रविन शर्मा, विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयका सहसचिव एवं नापतौल तथा गुणस्तर विभागका पूर्व महानिर्देशक रामआधार साह, ६ पेट्रोल पम्प सञ्चालक र यसमा संलग्न तीन भारतीय सहित पाँच मिस्त्रीलाई मुद्दा चलाइएको थियो ।

    डिजिटल प्रविधि जडान गरी रिमोट कन्ट्रोलबाट वर्षौंदेखि उपभोक्तालाई ठगी गर्दै आएको अभियोगमा उनीहरुलाई मुद्दा दायर गरिएको थियो । यो काममा सघाउने मिस्त्रीहरु भारतीय मिस्त्रीहरु आयुव आलम, सेश इम्तियाज र महम्द अबरार तथा नेपाली नागरिक मिन्टु भन्ने अमिद हुसेन र लक्ष्मी भन्ने मुख्तर साह फकिरलाई मुद्दा दायर गरिएको थियो ।

    प्रहरीले १३ पेट्रोल पम्पहरुमा छापा मारेर तेल ठगी गर्ने उपकरणसहित उनीहरुलाई पक्राउ गरेको थियो । तर, त्यसयता भने पम्पहरुमाथि अनुगमन हुन सकेको छैन । जसका कारण पम्पहरुको ठगी कार्य जारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार