सबै लडाईहरु हतियारले लडिदैनन्, आत्मविश्वासले लडिन्छन् । मलाई नेपोलियनको एउटा भनाई याद आउँछ ‘जब तिमी लडाइँ लड्न कुनै ठाउँमा जान्छौं, आफू आएको डुङ्गा जलाइदेउ, किनभने हामी त्यहाँ विजय प्राप्त गरेर त्यहीँ राज गरेर बस्छौं ।’
यसैबाट प्रेरित भएर जब म खेल खेल्नको लागि रिङमा उत्रन्छु, सबैभन्दा पहिला आफ्नो सुरक्षामा ध्यान दिन्छु । प्रतिद्वन्द्वीको अनुहार पढ्छु । जसबाट मैले कहाँ प्रहार गर्नु पर्दछ भन्ने कुरा बुझ्दछु । जब मलाई सबै कुरा मेरो अनुकुलमा छ भन्ने लाग्छ तब म राष्ट्रको लागि सोच्न थाल्दछु । मैले कुनैपनि हालतमा जित्नै पर्छ, राष्ट्रको लागि पदक ल्याउनैपर्छ, अन्तर्राष्ट्रियस्तरमा नेपालको नाम पटक–पटक दोहो¥याउन पर्दछ भन्ने कुरामा म जहिल्यै पनि चनाखो रहन्छु । म कहिले पनि नियम कानून मिच्दिन र कसैलाई मिच्न पनि दिन्न ।
त्यसमाथि म अन्तर्राष्ट्रिय स्तरको रेफ्रि (निर्णायक) भइसकेको व्यक्तिका लागि कानून भन्दा बाहिर जानु हुँदैन भन्ने मेरो विश्वास र बुझाइ पनि हो । मेरो यहि शास्वत सत्यले मलाई यहाँसम्म ल्याई पु¥याएको यथार्थ जिवितै छ । सफलताले आँफै ढोका ढकढक्याउन आउँदैन, हामीले अवसरहरूको खोजी गर्नुपर्दछ र अवसरहरूको सही सदुपयोग पनि । अनि मात्रै सफलताहरु हाम्रो पछि–पछि आफै आउँछन् । यो एउटा खेलाडीमा मात्रै लागू हुँदैन आम सर्वसाधारणदेखि राजनीति नेता र उच्च तहका सरकारी कर्मचारीमा पनि लागू हुन्छ ।
एउटा खेलाडी र राजनीतिकर्मीका लागि भने सबैभन्दा ठूलो कुरा नियमितता, लगनशिलता र अनुशासनले ठूलो भूमिका निर्वाह गर्दछ । जसरी एउटा खेलाडीमा प्यासनको आवश्यकता हुन्छ, त्यसैगरी एक सच्चा देशभक्त राजनीतिकर्मीमा पनि त्यो लागू हुन्छ भन्ने मेरो विश्वास हो । एउटा सच्चा र देशभक्त खेलाडीको नाताले म जहिल्यै पनि कतै प्रतियोगिता होस् वा नहोस्, म आफूलाई सँधै फिट एण्ड फाइन राख्छु । नियमित अभ्यास र सकारात्मक सोचाइ नै मेरो हरेक दिनका प्राथमिकताहरु हुन् ।
खेलबाट बचेको समय मैले समाजसेवामा विताएको छु । जुन कुरा मेरो बारेमा बुझ्न खोज्नेहरुले देखे सुनेकै हुनुपर्छ जस्तो लाग्छ । २०७२ सालको भूकम्पको बेला होस् वा २०७६ सालदेखि विश्वलाई नै थकित बनाएको कोरोन भाइरस (कोभिड १९) को संक्रमणको बेला नै किन नहोस् मैले कहिल्यै आफूलाई एउटा घरमा सिमित राखिन र कहिल्यै पनि हात बाँधेर बसिन । भूकम्पका बेला घरबार विहिन बनेका र कोरोनाका बेला अभाव भोगेकाहरुलाई मैले सकेको सहयोग गरिरहे र अहिले पनि अभाव र समस्याको भुमरीमा परिरहेको देखेमा सहयोगका हात बढाइरहेकै छु । जुन कुरा मैले एक सच्च देशभक्त नागरिकको हैसियतले मात्रै गरिरहेको छु ।
साथीभाइहरू र आफन्तका माध्यमबाट समस्या परेकाहरुको तथ्यांक संकलन गरेर म आफै राहत र उद्धारमा खटिरहे । अहिलेपनि कहिँ कतै कसैलाई अभाव छ भने म त्यहाँ पुगेकै हुन्छु । यो मेरो भावनात्मक सहयोग पनि हो । २०७२ सालको भूकम्पदेखि अहिलेसम्म मैले गरेको आर्थिक तथा अन्य सहयोगको बारेमा बेलिविस्तार लगाउने हो भने त्यसका फेहरिस्त धेरै लामो हुनेछन् । मैले २०७२ को भूकम्पको बेला विभिन्न स्थानमा १४ वटा टहरा निर्माण गरेका थिएँ । काठमाडौंको कागेश्वरी मनोहरा, शंकरापुर, भक्तपुरको सूर्यबिनायक र काभ्रेको पाँचखाल नगरपालिकामा उनले पिडितका लागि टहरा बनाएको थिएँ । कोरोना भाइरसको पहिलो र दोस्रो लहरका दौरान मैले ४ हजारभन्दा बढी परिवारलाई राहत उपलब्ध गराएँ ।
मेरो व्यक्तिगत प्रयासले ठूला कामहरु गर्न नसकेको हुँला तर, राम्रो र अरुको भलाइ हुने काम गरेकै छु भन्ने विश्वास बोकेको छ । यो कुरा आम पाठक र सर्वसाधरण व्यक्तिहरुले महसुस र मूल्यांकन गर्नुहुने नै छ । मेरो व्यक्तिगत प्रयासले बाटो बनाउन सक्दिन होला, नदीमाथि पुल हाल्न सक्दिन होला, कुनै प्रोजेक्ट ल्याएर रोजगारी सिर्जना गर्न सक्दिन होला । मेरो विचारमा यी सबै कामहरू राष्ट्रको दायित्व र कर्तव्यभित्र पर्दछन् । राष्ट्र निर्माणको जिम्मेवारी बोकेका जनप्रतिनिधिहरुले रोजगारीको सृजना गर्ने र विकास निर्माणमा हात अगाडि बढाउने हो । ती जनप्रतिनिधिका सहयोगी हातलाई हामीले साथ दिने हो र दिइरहेका छौं पनि । राष्ट्रको बजेटलाई सही ठाउँमा सदुपयोग गर्नका लागि स्थानीय जनप्रतिनिधिदेखि सरकारसम्म मेरो सँधै सहयोग र साथ रहिरहनेछ ।
आम जनताको सहयोग र समर्थन विना जनप्रतिनिधिले पनि सोचे अनुरुपको काम गर्न सक्दैनन् । गलत काममा अवरोध र सहि कार्यमा सहयोग गर्नु आम जनताको दायित्व र कर्तव्य हो भन्ने मेरो बुझाई हो । यही कुरालाई आत्मसात गर्दै म अगाडि बढिरहेको छु र बढ्नेछु । विकासका पूर्वाधारहरुको निर्माण र खेल क्षेत्रको विकासका लागि आफ्नो एक मुठ्ठी सास रहेसम्म जहिल्यै सक्रिय रहनेछु भन्ने पनि विश्वास दिलाउन चाहन्छु ।
देशकै लागि १६ वर्ष अघि दक्षिण एसियाली खेलकुद (साग) मा भाग लिन श्रीलंका पुग्न नसकेको पल सम्झदा अहिले पनि मेरो मन भक्कानिन्छ । सन् २००६ मा श्रीलंकामा भएको दशौं दक्षिण एसियाली खेलकुद (साग) मा पुरुष ५४ केजीमुनि तौल समूहमा छनौटका लागि भएको अन्तिम प्रतिस्पर्धा मेरो देब्रे गोडा भाँचियो । त्यसकारण मैले सागमा सहभागिता जनाउन पाइन । २००६ मा गोडा भाँचिएपछि साग त गुमाएँ नै तर कहिल्यै हार मानिन । कुनै पनि कुरामा हार नमान्ने मेरो बानी र तेक्वान्दोप्रतिको दृढ इच्छा मेहनतले आज मलाई अन्तर्राष्ट्रिय तेक्वान्दोको निर्णायक एवं प्रशिक्षक तथा काठमाडौं जिल्ला तेक्वान्दो संघको अध्यक्ष बनाएको छ ।
गोडा भााँचिएको केही महिनापछि नै म फेरि मैदानमै फर्किए र सम्पूर्ण शक्ति तेक्वान्दोमा पदक जित्न खर्चन थाले । तर, दुर्भाग्य सन् २००७ मा फेरि मेरो गोडा भाँचियो । भारतको लखनउमा भएको प्रतियोगितामा क्वार्टरफाइनलमा पुगेपछि अघिल्लो वर्ष साग छनोटमा भाँचिएको मेरो गोडा फेरि बिपक्षीको खुट्टामा बजारियो । त्यतिबेला मैले ८–० ले अग्रता लिइरहेका थिए । अन्तिम २० सेकेन्डको समय बाँकी थियो । त्यो खेल जितेको अवस्थमा मैले सेमिफाइनलमा पुग्दै कम्तिमा कास्य पदक पाउँथे । तर, त्यसपछि खेल्न नसक्दा कास्यमा चित्त बुझाएँ । गोडा भाँचिएपछि भारतमै उपचार गराएँ । त्यहाबाट शुरु भयो मेरो दुःखद् यात्रा ।
भारतमा गोडा प्लास्टर गराएर रातारात पिडा सहँदै नेपाल फर्किए । लगतै जोरपाटीको नेपाल अर्थोपेडिक अस्पताल पुग्दा बल्ल थाहा पाएँ, भारतमा भएको उपचारमा गम्भीर लापरबाही भएको रहेछ । अप्रेसन गर्नु पर्ने गोडामा प्लास्टर मात्र गरिएको रहेछ । प्लास्टर खोलेर हेर्दा नली खुट्टाको हड्डी नै पाकेको थियो । जसका कारण मैले लामो समय अस्पताल बस्नु पर्यो भने १३ महिनामा १४ पटक अप्रेसन समेत गर्नुपर्यो ।
१३ महिनापछि घर फर्किदा समेत मैले तेक्वान्दो छाड्ने बारे सोच्नै सकिन । मैले त्यतिबेलै अस्पतालकै शैयाबाटै फेरि पनि खेलमा फर्कने समेत घोषणा गरेका थिएँ । फलस्वरुप आज म यहाँ छु । त्यसपछि २०६८ सालमा सुदूरपश्चिममा भएको छैटौं राष्ट्रिय खेलकुदमार्फत् म फेरि खेलमा फर्किएँ । त्यतिबेला गेरोगी (फाइट) बाट पुम्से (कला प्रदर्शनी) मा स्थानन्तरण भएँ । धनगढीमा पुम्सेमा स्वर्ण जित्दै आफ्नो पुनरागमनलाई यादगार बनाएँ । त्यसपछि दक्षिण कोरिया लगायतका देशमा भाग लिदै स्वर्ण पदक समेत जित्न सफल भएँ ।
मुलपानी तेक्वान्दो डोजाङमा मुख्य प्रशिक्षण गराएर मैले अहिलेसम्म ४५० भन्दा बढी ब्ल्याकबेल्ट खेलाडी उत्पादन गरिसकेको छु भने ५ हजार बढीलाई तेक्वान्दो सिकाइसकेको छु । त्यतिमात्रै होइन मैले यौनजन्य हिंसामा परेका महिलाहरू, चेपाङ बालबालिका, जेल परेका अभिभावकका छोराछोरी र विभिन्न समस्या परेका बालकालिकाहरुलाई पनि निशुल्क तेक्वान्दो सिकाएको छु ।
त्यसपछि २०१८ बाट मेरो करिअरले अर्को मोड लियो । अन्तर्राष्ट्रिय रेफ्री सेमिनारमा भाग लिने मौका पाएँ । पुम्से र गेरोगी दुवै विधामा भाग लिंदा ‘वेस्ट फर्फमर’ भएपछि मेरो यात्रा अन्तर्राष्ट्रिय स्तरमा पुग्यो । विश्व तेक्वान्दो महासंघले मान्यता दिएकाले म त्यसपछि अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि निर्णायक बन्न योग्य बने । त्यसपछि मैले विश्वका ३५ बढी अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमीका निर्वाह गरिसकेको छु भने कतिपय प्रतियोगितामा उत्कृष्ट रेफ्रीको अवार्ड समेत पाएको छु ।
२०१९ मा पारा रेफ्री कोर्ष गर्दा उत्कृष्ट अंक ल्याएपछि टोकियो प्यारालिम्पिकको रेफ्री छनोटका लागि सहभागी भएँ । तर लकडाउका कारण अन्तिम छनोटमा भने मैले भाग लिन पाइन । केही समय अघि मात्रै मैले बुल्गेरियाको सोफियामा भएको तेक्वान्दोको विश्व च्याम्पियनसिपमा निर्णायकको भूमीका निर्वाह गरेका थिएँ । त्यहा पनि म प्रतियोगिताको उत्कृष्ट रेफ्री मध्येका एक बन्न सफल भएँ ।
कोरिया, युके, मलेसिया, अष्ट्रेलिया, जापान, हङकङ, भारत लगायतका देशहरुमा पुगेर गोल्ड मेडेल जित्दा आफ्नो नाम मात्रै नभई देशको नै नाम विश्वसामु चिनाएको छु जस्तो लाग्छ । सन् २०२२ मा मात्रै मैले बेल्जियम, स्वीडेन, अष्ट्रिया, बुल्गेरिया इत्यादि राष्ट्रहरुमा आमन्त्रित भई निर्णायक भएर काम गरेको छु । ती देशहरुमा मलाई उत्कृष्ट निर्णायकको सम्मान समेत प्राप्त भएको थियो । नेपाल सरकारले मलाई समग्र खेलकुदको उत्कृष्ट निर्णायकको अवार्ड सहित रु. १ लाख नगदले सम्मान समेत गरिसकेको छ ।
यसरी १४ पटक अप्रेसन हुँदा समेत खेलमा नै जीवन समर्पण गरेर देशको लागि केही गर्छु भन्ने अठौटका साथ अगाडि बढिरहेको छु । मैले गरेका राम्रा कामका साथ दिनुहुने सम्पूर्ण खेलप्रेमी तथा अन्य व्यक्तिहरुप्रति आभार व्यक्त गर्न चाहन्छु । खेल बाहेक अन्य जुनसुकै क्षेत्रबाट पनि देशको सेवा गर्ने अवसर मिलेको खण्डमा म कहिल्यै पनि विचलित हुने छैन र चुक्ने छैन भन्ने विश्वास दिलाउन चाहन्छु ।
Leave a Reply