काठमाडौं । नाबालिगमाथि जबरजस्ती करणीको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गर्ने तयारी गरेको छ ।
मंगलबार अबेर सन्दीपविरुद्ध जबरजस्ती करणीको उजुरी परेकाले उनीविरुद्ध पक्राउ पुर्जी जारी नभएको र आज हुने स्रोतको दाबी छ ।
उनीविरुद्ध गत भदौ पाँच गते एक १७ वर्षीया किशोरीलाई प्रभावमा पारेर जबरजस्ती करणी गरेको उजुरी प्रहरी वृत्त गौशालामा बुधबार परेको हो । उजुरीमा नाबालिगले सन्दीपसँग सामाजिक सञ्जालमार्फत चिनजान भएको र भेट्न बोलाएर उनले आफूलाई जबरजस्ती करणी गरेको उल्लेख गरेकी छन् ।
उजुरीमा बालिकाले बालात्कार भएको दिन भदौमा पाँच गते आफूलाई सन्दीपले काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न ठाँउसहित नगरकोटसम्म घुमाएको र राति पिंगलास्थानको होटलमा लगेर राखेको विवरण उल्लेख गरेकी छन् ।
प्रहरी प्रधान कार्यालयको उच्च स्रोतका अनुसार बालिकाले त्यस रात आफूलाई सन्दीपले दुईपटक जबरजस्ती करणी गरेको बताएकी छन् ।
ती बालिका अहिले प्रहरी र आफन्तको संरक्षणमा रहेको बताइएको छ । उक्त घटना भएको भोलिपल्ट सन्दीप केन्यासँग सिरिज खेल्नका लागि प्रस्थान गरेका थिए ।
सन्दीप हाल क्यारेवियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिजमा छन् । पाँच टी–२० र तीन एकदिवसीय क्रिकेट श्रृंखला खेल्न उनी ६ भदौमा नैरोबी उडेका थिए। टी–२० श्रृंखला खेलेपछि उतैबाट सिपिएल खेल्न वेष्ट इन्डिज गएका हुन् ।
Leave a Reply