काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा राप्रपालाई असफल हुने सुविधा नभएको बताएका छन् ।
पार्टीको केन्द्रीय प्रशिक्षण विभागद्वारा आयोजित केन्द्रीय पदाधिकारी एवं सदस्यका लागि आयोजित निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रममा समसामयिक राजनीतिक परिस्थिति, भावी कार्यदिशा र पार्टीको चुनावी रणनीति विषयमा प्रशिक्षण दिदै अध्यक्ष लिङ्देनले आउँदो निर्वाचनमा राप्रपा कमजोर भयो भने देशमा वैकल्पिक राजनीतिको सम्भावना कमजोर हुने बताएका हुन् ।
'देशले परिवर्तन खोजिरहेको छ, राप्रपा परिवर्तनको वाहक शक्तिको रुपमा उदाइरहेको छ तर निर्वाचनमा हाम्रो प्रभावकारी भूमिका भएन भने वैकल्पिक राजनीतिको धार कमजोर हुन पुग्छ, जुन केवल पार्टीको लागि मात्रै होइन देशकै लागि ठूलो क्षति हुनेछ,' अध्यक्ष लिङ्देनले भने ।
अध्यक्ष लिङ्देनले योग्यता, क्षमताका आधारमा नेता, कार्यकर्ताको मूल्यांकन हुने बताउँदै महाधिवेशनमा मत दिएको वा नदिएको आधारमा कसैलाई काखा र पाखा नहुने भन्दै आस्वस्त पारेका छन् ।