काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र संघ (यूएन) को ७७औं महासभामा सहभागी हुन अमेरिका नजाने भएका छन् ।
यूएनको ७७औं महासभा १३ देखि २७ सेप्टेम्बरसम्म हुनेछ । प्रधानमन्त्री देउवाको अमेरिकाको भ्रमणको तयारी पटकपटक गरिए पनि मिति तय हुन सकेको थिएन ।
यूएन महासभाको अवसरमा उनको अमेरिका भ्रमणको तयारी गरिएको थियो । अन्ततः उनी सहभागी नहुने भएका छन् । नेपालमा निर्वाचनको मिति तय भइसकेकाले उनी अमेरिका भ्रमणमा नजाने भएको बताइएको छ ।
अमेरिकाबाट द्विपक्षीय भ्रमणका विषयमा निश्चित मिति नआएपछि देउवा यूएन महासभाका सहभागी हुन अमेरिका भ्रमण नगर्ने पक्षमा पुगेका हुन् । गत वर्ष नयाँ सरकार बनेपछि प्रधानमन्त्री देउवाले यही वर्षको असारको अन्त्य वा साउनको पहिलो साता अमेरिका भ्रमण गर्ने गरी परराष्ट्र मन्त्रालयले गृहकार्य गरेको थियो ।
तर त्यसबीचमा अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लाई नेपालले असार ६ गते अस्वीकार गर्ने निर्णय गरेको थियो । त्यसपछि प्रधानमन्त्री देउवाको वासिङ्टन डीसीको भ्रमणको योजना अघि बढ्न नसकेको हो ।
प्रधानमन्त्री देउवा महासभामा नजाने बालुवाटारबाट जानकारी आएपछि परराष्ट्र मन्त्री नारायण खड्काले यस पटक पनि न्युयोर्क गएर नेपालको तर्फबाट सम्बोधन गर्ने गरी परराष्ट्र मन्त्रालयको गृहकार्य भएको स्रोतले बतायो ।
Leave a Reply