काठमाडौं । अर्काको नाममा नक्कली परीक्षार्थी बनेर सवारी चालकको ट्रायल दिने दुईजना पक्राउ परेका छन् ।
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ९ मा रहेको राधेराधे ट्रायल सेन्टरबाट टुकुसिंह तामाङ र राज कुमार श्रीमल पक्राउ परेका हुन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो ।
सिन्धुलीको दुधौली नगरपालिका १४ घर भएका मनिष प्रसाद सेढाईको नाममा ट्रायल दिँदै गर्दा सोही ठाउँका २१ वर्षीय टुकुसिंह तामाङ पक्राउ परेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै गोरखाको भिमसेनस्थान गाउँपालिका घर भएका ओमहरि ताम्राकारको नाममा ट्रायल दिँदै गर्दा सोही ठाउँका २२ वर्षिय राज कुमार श्रीमललाई पक्राउ गरेको हो । उनीहरुमाथि थप अनुन्धान भइरहेको बताइएको छ ।
Leave a Reply