बुटवल । बुटवलको बेलबासमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको मृत्यु भएको छ । दुर्घटनामा परि बुटवल १३ बेलवासका ४५ वर्षीय सोनु भट्टराई र उनका छोरा ६ वर्षीय निशान भट्टराईको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
बुधबार दिउँसो बुटवल १३ बेलवासचोकमा पूर्व पश्चिम राजमार्गमा पश्चिमतर्फ जाँदै गरेको लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु ४८ प ३२४६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।
पूर्वतर्फ जाँदै गरेको लु १ क ४४२४ नम्बरको ट्याङ्कर मुनी लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल परेको थियो । दुर्घटनाबाट गम्भीर घाइते बाबुछोरालाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएकोमा अस्पतालले मृत घोषणा गरेको थियो ।
सोही दुर्घटनामा बुटवल–१३ का १५ वर्षीय आयुष आचार्य र पाल्पा रामपुर २ का २३ वर्षीय अमृत सुनारी मगर घाइते भएका छन् । उनीहरूको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ भने मोटरसाइकल र ट्याङ्कर प्रहरीले नियन्त्रणमा लिएको छ ।