काठमाडौं । संघीय संसद्को महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमेशर जबराको आज बयान लिँदै छ । राणाविरुद्ध गत फागुनमा संसद् सचिवालयमा पेस भएको महाभियोग विचाराधीन अवस्थामा छ।
फागुनमा नै गठन भएको महाभियोग सिफारिस समितिले चोलेन्द्र विरुद्धको महाभियोगमा करिब ६ महिनापछि प्रक्रिया अगाडि बढाएको हो । भदौ ७ गते बसेको समितिको बैठकले जबरालाई बयानका लागि आजलाई बोलाउने निर्णय गरेको थियो ।
बैठक बिहान ११ बजे बस्न लागेको हो । समिति सदस्य लालबाबु पण्डितका अनुसार समितिले आन्तरिक कार्यविधि पारित गरेको छ । कार्यतालिकासमेत संशोधनसहित पारित गरिएको छ ।
जबराविरुद्ध संघीय संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएपछि उनको पद निलम्बनमा परेको छ । यसैबीच, महाभियोग सिफारिस समितिले जबराविरुद्ध प्रमाण, कागजात तथा जानकारी भए उपलब्ध गराउन आग्रह गरेको थियो ।
संघीय संसदले भदौ १० गते सार्वजनिक सूचना जारी गर्दै तीन दिनभित्र समितिमा आइपुग्ने गरी राणविरुद्ध कुनै प्रमाण, कागजात तथा जानकारी भए उपलब्ध गराउन अनुरोध गरेको थियो ।
Leave a Reply