Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बागमती प्रदेश सरकारले वातावरण सम्मेलन आयोजना गर्ने

काठमाडौँ । वातावरण संरक्षणको मुद्दामा सरोकारवालाबीच साझा धारणाका साथ नीतिगत स्पष्टता ल्याउने उद्देश्यले बाग्मती प्रदेश सरकारले ‘प्रदेशस्तरीय वातावरण सम्मेलन’ गर्ने भएको छ ।

सम्मेलनको पूर्वतयारीका क्रममा बागमती प्रदेशका वन तथा वातावरणमन्त्री विशाल खड्काले आज सरोकारवालासँग छलफल गरेका छन् ।

राजधानी काठमाडौँमा आयोजना गरिएको उक्त छलफलमा सरोकारवालाले सम्मेलनका नाममा सम्मेलन गर्नेभन्दा पनि वातावरण संरक्षणमा हस्तक्षेप गर्ने नीति निर्माणमा ध्यान दिनुपर्ने बताए । सहभागीले वातावरण संरक्षणमा चुनौती देखिएको फोहरमैला व्यवस्थापन, जलवायु परिवर्तनको असर न्यूनीकरण र जैविक विविधता तथा वातावरण संरक्षणमा नवीन प्रविधिको अन्वेषण र प्रयोगका विषयमा गहन ढङ्गको छलफल हुनुपर्नेमा जोड दिए ।

जलवायु परितर्वनको असर तीव्र गतिमा बढिरहेको भन्दै उनीहरूले यसको असरबाट जोगिने उपायका बारेमा सचेत गराउँदै समुदायस्तरमा अनुकूलनका कार्यक्रम सञ्चालन गरिनुपर्ने बताएका थिए । वातावरण संरक्षणका निम्ति बनाइएको कानून, नियम, नीति, साझेदार संस्था तथा अन्तर्राष्ट्रिय मञ्चमा व्यक्त प्रतिबद्धताका आधारमा सम्मेलनमार्फत स्पष्ट नीति बनाइनुपर्ने उनीहरूको भनाइ थियो ।

बागमती प्रदेशलाई वातावरण संरक्षणको क्षेत्रमा अग्रसरताका साथ काम गर्न अवसरका साथै चुनौती पनि रहेको जनाउँदै उनीहरूले सम्मेलनको निष्कर्षले अन्तरराष्ट्रिय समुदायलाई पनि घच्घच्याउनुपर्ने बताए ।

आजको छलफलले सम्मेलन आयोजनाका लागि बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालय मातहतको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका प्रमुख जीवनाथ पौडेलको संयोजकत्वमा सात सदस्यीय प्राविधिक समितिसमेत गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077