रौतहट । हाजिर भएको दुई घण्टा नबित्दै जिल्ला समन्वय समिति रौतहटका खरिदार सरुवा भएको छ । समन्वय समितिमा मंगलबार सरुवा पत्र लिएर हाजिर भएका खरिदार चिरन आचार्य दुई घण्टा नबित्दै सरुवा भएका हुन् ।
मन्त्रालयले खरिदार आचार्यको साउन ६ गते सरुवा गरेको थियो । लोकसेवा आयोगबाट भदौ २ गते रवाना पत्र लिएर रौतहट आएका आचार्य भदौ ६ गते सोमवार हाजिर गराउन निवेदन दिएपछि कार्यालयले मंगलबार आचार्यको हाजिर गराएको थियो ।
आचार्य हाजिर भएको दुई घण्टा नबित्दै उनको सरुवा भएको नयाँ पत्र समितिलाई प्राप्त भयो । उक्त पत्रमा आचार्यलाई पुनः संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साउन २३ गते नै सरुवा गरेको पाइएको हो ।
यसरी कार्यालयमा हाजिर भएको १६ दिन अगाडि नै उनको सरुवा भएको रहस्य खुलेको हो ।
Leave a Reply