काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारले चाहे निजामती सेवा विधेयक चाँडै बन्ने बताएका छन् ।
बुधबार संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रदेश १ मा आयोजित छलफलमा उनले संघीय निजामती सेवा ऐनको माग सबैजसो प्रदेशमा उठेको भन्दै सरकारले अहिले नै राष्ट्रियसभामा ल्याए पनि विधेयक पारित गर्ने बताए ।
सरकारले अहिले विधेयक पेस नगरे अहिलेसम्मको मिहिनेत शून्यमा परिणत हुने पनि अध्यक्ष तिमिल्सिनाले बताए ।
‘निजामती सेवा ऐनको बारेमा धेरै प्रदेशमा कुरा उठिरहेको छ । एउटा निजामती सेवा ऐनलाई अध्ययन गर्न कति समय लाग्छ ? रामायण, महाभारतको ठेली पढेको जस्तो त होइन नि । त्यो पनि कानूनमा पुगेर अड्किएको छ । कानूनको नजरमा ठिक छ कि छैन भन्ने हेर्ने ठाउँमा महिना दिन अड्काएर हुन्छ ? राय दिएर पठाए हुँदैन । यत्तिकै संसद सकियो भने कसरी आउँछ ?’ उनले प्रश्न गरे ।
अध्यक्ष तिमिल्सिनाले कर्मचारीतन्त्रले कसरी सेवा प्रवाहबाट देशलाई माथि उठाउने भन्ने बारेमा सोच्न जरुरी रहेको बताए । उनले कर्मचारीहरु कुनैपनि दलको नेताहरुसँग चाप्लुसी गर्न छोडेर जनतामा सहज सेवा बिस्तार र व्यवस्थापनमा लाग्न आवश्यक रहेको बताए ।
Leave a Reply