कैलाली । थरुहट/थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनको क्रममा कैलालीको टीकापुरमा एसएसपी लक्ष्मण न्यौपाने सहितका ७ जना प्रहरी र एक नाबालकको मृत्यु भएको आज सात वर्ष पूरा भएको छ ।
२०७२ साल भदौ ७ गते आजकै दिन भएको सो घटनामा मुख्य दोषी ठहर भएका रेशम चौधरीले जन्म कैदको सजाय भोगिरहेका छन् ।
यस्तै टीकापुरलगायतका स्थानमा नागरिक उन्मुक्तिले टीकापुर विद्रोह दिवस मनाउने भएको छ । टीकापुरमा २०७२ भदौ ७ गते घटेको टीकापुर घटनालाई टीकापुर बिद्रोह तथा थारु विद्रोह दिवस र ८ गते कालो दिनको रुपमा मनाइँदै आइएको छ ।
नागरिक उन्मुक्ति पार्टीका नेता तथा टीकापुर नगरपालिकाका मेयर रामलाल डंगौराले थाकसको सभापतित्व र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको प्रमुख अतिथ्यमा कार्यक्रम गर्ने र जेलबन्दी परिवारका सदस्यलाई अतिथि बनाइ सम्मान गर्ने कार्यक्रम रहेको छ।
करिब साढे ३ वर्षपछि टीकापुर घटना सम्बन्धी मुद्दामा कैलाली जिल्ला अदालतले प्रतिनिधिसभा क्षेत्र नम्वर १ बाट विजयी सांसद चौधरी सहितका ११ जनालाई जन्मकैदको फैसला सुनाएको थियो।