काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्र बहादुर धानुकले उपत्यका प्रहरीको कार्यशैली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबिम्बको रूपमा रहने हुनाले अझै उत्कृष्ठ ढंगले कार्यसम्पादन गर्नुपर्ने बताएका छन् ।
सोही कार्यालय तथा मातहत कार्यालयका प्रमुखहरूलाई कार्यालयको सभाहलमा सोमबार अतिरिक्त महानिरीक्षक धानुकले यस्तो निर्देशन दिएका हुन् । नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरि भरपर्दो सुरक्षा योजना निर्माण गर्न मातहत कार्यालयलाई उनले निर्देशन दिए ।
यस्तै उनले आउँदै गरेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि आवश्यक समन्वय र सहकार्यमार्फत् स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने गरी तयारी गर्न समेत निर्देशन दिए ।
कसैको लोभ, प्रलोभन वा आश्वासनमा नपरि गैरकानूनी क्रियाकलापमा संलग्नलाई कानूनी दायरामा ल्याउन निर्देशन दिँदै आर्थिक पारदर्शिता, महिला हिंसा, यौनजन्य हिंसालाई शुन्य सहनशिलतामा प्रहरी कारवाहीलाई अगाडी बढाउन र उपत्यकाको ट्राफिक व्यवस्थापनमा योजना बनाई कार्यान्वयन गर्न समेत अतिरिक्त महानिरीक्षक धानुकले निर्देशन दिए ।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, उपत्यकास्थित प्रहरी वृत्त तथा प्रभागका कार्यालय प्रमुखहरूको उपस्थिति रहेको थियो ।
Leave a Reply