काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अमेरिकन आइडलको उपविजेता बन्न सफल गायक दिवेश पोखरेल (अर्थर गन) लाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त गरेको छ ।
आइतवार मन्त्रालयमा आयोजित कार्यक्रममा संस्कृतिमन्त्री जीवनराम श्रेष्ठले पोखरेललाई विश्व सद्भावना दूत नियुक्त गरेको घोषणा गरेका हुन् ।
कार्यक्रममा नेपाललाई विश्व सामु चिनाउन महत्त्वपूर्ण योगदान दिएकोले पोखरेललाई सम्मान गरिएको थियो ।
पोखरेललाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत घोषणा गर्न पाउँदा खुसी लागेको बताउँदै मन्त्री श्रेष्ठले आफ्नै प्रतिभामार्फत नेपाललाई विश्वमा चिनाउन महत्त्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरे ।
मन्त्री श्रेष्ठले विभिन्न विधामा रहेका नयाँ प्रतिभाहरूले नेपाललाई विश्वमै नयाँ पहिचान दिन सफल भएको बताए ।
विश्व सद्भावना दूत नियुक्त भएपछि पोखरेलले सङ्गीतमार्फत नेपालको पर्यटन तथा संस्कृति प्रवर्द्धनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
Leave a Reply