काठमाडौं । सर्वोच्च अदालतले कर्मचारी समायोजन सम्बन्धी सबै मुद्दाको फैसला १ भदौमासुनाउने भएको छ । कर्मचारी समायोजन सम्बन्धी एक सय भन्दा बढी मुद्दाहरुको एकमुष्ट सुनुवाई गर्दै संवैधानिक इजलासले दुई सातापछि निर्णय सुनाउने मिति तोकेको हो ।
कर्मचारी समायोजन सम्बन्धी विवाद सुनुवाइका लागि कामू प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तानको संवैधानिक इजलास गठन भएको थियो ।
संघीयता कार्यान्वयनसँगै सरकारले निजामती सेवामा रहेका कर्मचारीहरुलाई स्थानीय र प्रदेश सभामा समायोजन गरेको थियो । समायोजनका क्रममा कनिष्ठतम कर्मचारीहरुलाई स्थानीय र प्रदेश तहमा पठाउन प्राथमिकतामा राखिएको थियो ।
संघीय निजामती सेवामा नियुक्त भएपनि आफूहरुलाई अन्यायपूर्ण तरिकाले समायोजन गरिएको भन्दै कर्मचारीहरुले सर्वोच्च अदालतमा मुद्दा हालेका थिए । ती मुद्दा केही वर्षयता सर्वोच्च अदालतमा विचाराधीन थिए ।