काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनीले बजेट निर्माणका सन्दर्भमा बाहिर नकारात्मक टिप्पणी धेरै भएपछि आफू बिदामा बसेको बताएका छन् । संसदीय छानबिन समिति गठन भएर अर्थमन्त्री जनार्दन शर्माको राजीनामापछि मन्त्रालय प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हालेका थिए । देउवाले मन्त्रालय सम्हालेलगत्तै सहयोग गर्न भनेपछि आफू भोलिपल्टै काममा फर्किएको उनको भनाइ छ ।
उनले छानबिन समितिमा दिएको बयानमा भनिएको छ, ‘जुन किसिमको विवाद मिडियामा आयो । त्यसपछि सदनमा पनि कुरा उठ्यो, मिडिया र सामाजिक सञ्जालमा व्यक्तिगत रूपमा मलाई पनि धेरै नकारात्मक टीकाटिप्पणी आए । मानसिक रुपमा त्यो सबै थेग्न नसकेर केही समय बिदा बस्छु भनेर बसेको हो ।’
उनले अगाडि भनेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीले नै अर्थ मन्त्रालय सम्हाल्न थाल्नुभएपछि मलाई फर्केर सहयोग गर्न भन्नुभयो । देशको कार्यकारी प्रमुखले त्यति भन्नुभएपछि नमान्ने कुरै भएन ।’ छानबिन समितिका सभापति र सदस्यहरुले मन्त्रालयमा बजेट निर्माणका क्रममा भएका अनधिकृत व्यक्तिको प्रवेश र करका दर हेरफेरमा केन्द्रीय रहेर करिब १ दर्जन प्रश्न गरेका थिए ।
जसमा ‘विवाद आएपछि बिदामा पनि बस्नुभएको थियो । जनार्दन शर्मा मन्त्री हुँदासम्म नफर्कने भन्नुभएको थियो भनेर मिडियामा सुनिएको थियो । मन्त्रीले राजीनामा दिनुभएपछि भोलिपल्टै फर्कनुभयो। मन्त्रीले राजीनामा नदिँदा बिदा बस्नुपर्ने र राजीनामा दिएपछि फर्कने के कारण थियो’ भन्ने प्रश्न पनि समावेश थियो ।
उनले बयानका क्रममा बजेट निर्माणका क्रममा कुनै अनधिकृत व्यक्तिको प्रवेश नभएको उल्लेख गर्दै सीसीटीभी फुटेज नराख्ने मामिलामा भने कमजोरी भएको स्वीकारेको छानबिन समितिका एक सदस्यले बताए ।
Leave a Reply