काठमाडौं । वार्षिक बजेट तर्जुमा गर्दा करका दर हेरफेरमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा छानबिन गरिरहेको संसदीय विशेष समितिले प्रमाण फेला नपरेको निष्कर्षसहितको प्रतिवेदन तयार पारेको छ ।
बुधबार र बिहीबार दुई दिनसम्म प्रतिवेदनका अन्तर्वस्तुमा छलफल गरेर समितिले प्रतिवेदन तयार पारेको हो । प्रतिवेदन शुक्रबार सभामुखलाई बुझाउने तयारी समितिको छ ।
प्रतिवेदनका निष्कर्षका कतिपय विषयमा सत्तापक्ष र प्रतिपक्ष विभाजित भएका छन् । विशेष समिति सचिव सुरेन्द्र अर्यालले छलफल र परामर्शमा प्रतिवेदनलाई करिब अन्तिम रूप दिइएको बताए ।
प्राविधिक विषय मिलाएपछि शुक्रबार सभामुखलाई प्रतिवेदन हस्तान्तरण हुने जानकारी दिँदै उनले, “दिनभरको छलफल र परामर्शको विषय प्रतिवेदनको तयारी नै हो । करिब अन्तिम बैठक भएकाले प्रतिवेदन तयारी सम्पन्न भएको छ । प्राविधिक विषय मिलाएपछि सभामुखसमक्ष प्रतिवेदन बुझाइनेछ । सम्भवतः शुक्रबार नै प्रतिवेदन बुझाइन्छ ।’’
समितिको निष्कर्षका विषयमा भने सत्ता गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत एक ठाउँमा उभिएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) भने प्रतिवेदनको निष्कर्षमा असहमति रहेको समिति स्रोत बताउँछ ।
बिहीबारको बैठकपछि समितिमा एमालेका तर्फबाट सदस्य रहनुभएका खगराज अधिकारीले समेत प्रतिवेदनमा फरक मत रहेको सङ्केत गरे । गोरखापत्र दैनिकबाट