काठमाडौं । नेपालले भारतमा जारी साफ यू–२० च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। भुवनेश्वरस्थित कालिंगा रंगशालामा बुधबार सम्पन्न खेलमा नेपालले श्रीलंकालाई ३–० गोलले पराजित गरेको हो।
नेपालका लागि कप्तान आयुष घलानले ५८ औं मिनेटमा रिबाउन्डमा पहिलो गोल गरे । कृतिषरत्न छुन्जुले ६५ औं मिनेटमा दोस्रो गोल गरे । पेनाल्टी एरिया बाहिरबाट उनले आकर्षक गोल गरेका हुन् ।
मनग्य नकर्मीले ८४ औं मिनेटमा नजिकको दूरीबाट तेस्रो गोल थपे । नेपालको २ खेलबाट ६ अंक भएको छ । दोस्रो स्थानको बंगलादेशको पनि ६ अंक रहेको छ। गोलअन्तरमा नेपालले बंगलादेशलाई पछि पारेको हो ।
भारत, माल्दिभ्स र श्रीलंकाले भने अंकको खाता खोलेका छैनन्। लिग चरणपछि शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछ। नेपालले अब ३१ जुलाईमा भारतको सामना गर्नेछ। फाइनल ५ अगस्टमा हुनेछ।
Leave a Reply