काठमाडौं । नागरिकता विधेयक प्रतिनिधिसभाबाट आज पारित गर्ने तयारी भएको छ । सत्तारूढ दलकै र विपक्षी दलका सांसदका संशोधन प्रस्तावका केही मुद्दा सम्बोधन गरेर विधेयक पारित गर्ने तयारी भएको हो ।
सरकारले २४ असारमा ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ फिर्ता लिएर सोही दिन नयाँ विधेयक दर्ता गराएको थियो । विधेयकमाथि ३१ वटा समूहका ९४ सांसदका संशोधन प्रस्ताव छन् । संशोधन प्रस्तावमाथिको छलफलपछि विधेयक निर्णयार्थ पेस गर्ने तयारी छ ।
विधेयक पारित गर्ने विषयमा शुक्रबार गृहमन्त्री बालकृष्ण खाण र कानुनमन्त्री गोविन्द बन्दी, माओवादीका सांसदहरू वर्षमान पुन, शक्ति बस्नेत, रेखा शर्मा, यशोदा सुवेदी र एकीकृत समाजवादीकी सांसद रामकुमारी झाँक्रीबीच गृह मन्त्रालयमा छलफल भएको थियो । स्रोतका अनुसार उनीहरूबीच संशोधन विधेयकका केही विषय सम्बोधन गरेर शुक्रबार नै नागरिकता विधेयक पारित गर्ने सहमति भएको छ ।
प्रमुख प्रतिपक्ष दल एमालेका सांसदले राखेका संशोधन प्रस्तावका केही विषय सम्बोधन गर्ने तयारी छ । अन्तरिम संविधान, २०६३ अन्तर्गत बनेको नागरिकता ऐन, २०६३ को विस्थापनका लागि नागरिकतासम्बन्धी नयाँ कानुन बनाउन सरकारले २२ साउन ०७५ मा संसद्मा विधेयक दर्ता गरेको हो ।
Leave a Reply