Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उपत्यकामा पहिलोपटक आफ्नै पेट्रोल पम्प सञ्चालन गर्दै आयल निगम

काठमाडौं । नेपाल आयल निगमले काठमाडौं उपत्यकामा पहिलोपटक आफ्नै पेट्रोल पम्प सञ्चालन गर्ने भएको छ ।

निगमले टेकुमा अत्याधुनिक सेवासहितको पेट्रोल पम्प सञ्चालन गर्ने भएको हो । यस पम्प निर्माण गर्नका लागि टेण्डर आह्वान भइसकेको छ ।

काठमाडौं उपत्यकामा करिब १०० वटा पेट्रोल पम्प छन् । जसमध्ये सरकारी र सहकारीले सञ्चालन गरेका पम्पको संख्या १२ वटा छन् । यसमा साझा, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायतले सञ्चालन गरेका पम्प छन् ।

यसबाहेक, उपत्यकामा सञ्चालित सबै पम्प निजी क्षेत्रबाट सञ्चालित रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । उनले निगमले पहिलोपटक काठमाडौं उपत्यकामा आफ्नै पेट्रोल पम्प सञ्चालनमा ल्याउने गरी निर्माणको ठेक्का आह्वान गरेको बताए ।

यसअघि, निगमले भैरहवा र नेपालगञ्जमा पनि आफ्नै पेट्रोल पम्प सञ्चालन गरिरहेको छ । ‘निगमले विस्तारै पेट्रोलियम बजारमा आफ्नो उपस्थिति बढाउने योजना बनाएको छ,’ उपाध्यायले भने, ‘सोहीअनुसार, सात वटै प्रदेशमा कम्तिमा १÷१ वटा पम्प सञ्चालन गर्छौं ।’

यसअघि, पेट्रोलियम व्यवसायीहरू देशव्यापी हड्तालमा उत्रिएर सेवा अवरुद्ध गरेको समयमा निगमका पम्पहरूले निर्वाध सेवा दिइरहेका थिए ।

सोहीकारण, पेट्रोलियम पदार्थको बिक्री गर्ने पम्पकारूपमा सरकारी र सहकारी तथा निगमका पम्पहरू चाहिने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077